काठमाडौं। स्कटल्यान्डमा जारी टि २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ।
स्कटल्यान्डको टिटउट रंगशालामा भएको खेलमा एक सय ७५ रनको लक्ष्य पाएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक बनाए। उनले ५१ बलमा ६ चौकाको मद्दतमा ६५ रन बनाए। यस्तै आरिफ शेखले २३ बलमा ३ चोका र २ छक्का प्रहार गर्दै ३९ रन बनाएर ‘रिटायर्ड हर्ट’ भए। भीम शार्कीले २७, दीपेन्द्र सिंह ऐरीले १६ तथा लोकेश बमले १२ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ८६ रन बनाए। उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै रेलोफ भान डेर मर्वेले ३६ तथा आर्यन दत्तले १७ रन बनाए।
नेपालका लागि करण केसीले दुई विकेट लिए। यस्तै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक एक विकेट लिए।
टि २० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो।
प्रतिक्रिया