काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व परिवर्तन विधान अनुसार नै हुने भएको छ ।
शुक्रबार सम्पन्न कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधान अनुसार पार्टीले १५औँ महाधिवेशनको तयारी गरिरहेको र नेतृत्व परिवर्तन पनि विधान अनुसार नै हुने स्पष्ट गरेका हुन् ।
उनले पार्टी पुनर्गठनबारे नेताहरूले राखेको अभिव्यक्ति व्यक्तिगत भएको र संस्थागत निर्णय नभएको समेत बताए । उनले भने- 'अहिले पार्टीलाई पुनर्गठन गर्ने, अधिवेशन गर्ने, पुनर्संरचना गर्ने कुरा विपद्को बेलामा साथीहरूले व्यक्तिगत रूपमा राखेका कुरा हुन् । हामी अहिले महाधिवेशनको तयारीमा छौँ । क्रियाशील सदस्यता बुझ्ने र बुझाउने क्रम जारी छ । त्यसैले हामी देश संबिधान अनुसार हुनुपर्छ भने झैँ पार्टी सञ्चालनको लागि पनि विधानभित्रै रहेर गर्छौँ ।'
जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरुले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेको भए पनि पार्टीले आधिकारिक रुपमायस्तो कुनै निर्णय गर्ने अवस्था देखिएको छैन ।
त्यस्तै विश्वकर्माले सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको र सैनिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
प्रतिक्रिया