काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा मानिस पठाउन निर्माण गरेको रकेट प्रक्षेपणको तयारी थालेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामको रकेटलाई फ्लोरिडामा रहेको केनडी स्पेस सेन्टरमा रहेको ‘प्याड–३९ बी’ मा लगिएको छ ।
झन्डै सय मिटर अग्लो एसएलएसलाई ठूलो ट्र्याक्टरमा चढाएर प्याडसम्म लगिएको बीबीसीले जनाएको छ । त्यहाँबाट रकेट अबको दश दिनपछि अर्थात अगस्ट २९ मा पहिलो पटक उड्नेछ । उक्त परीक्षण उडानमा चालक दलका कोही पनि सदस्य रहने छैनन् । तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ ।
यो नासाका लागि एउटा महत्त्वपूर्ण क्षण मानिएको छ । आगामी डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो–१७ अभियानको ५०औँ वार्षिकोत्सव मनाउन लागेको छ । नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया