×

बौद्ध भिक्षुको यौन काण्डले थाइल्याण्डमा हंगामा, को हुन् विलावन अम्सावत ?

images

काठमाडौँ । थाइल्याण्डमा भएको एउटा ठूलो ब्ल्याकमेल काण्डले देशलाई हल्लाएको छ । प्रहरीले मंगलबार एक महिलालाई पक्राउ गरेको छ,  जसमाथि बौद्ध भिक्षुहरूलाई यौन सम्बन्धमा फसाउने र त्यसपछि पैसाको लागि ब्ल्याकमेल गर्ने आरोप लागेको छ । यो घटना यस कारण पनि चर्चा र बहसमा छ किनभने भिक्षुहरूले यसमा ब्रह्मचर्यको प्रतिज्ञा तोडेका छन् । रोयल थाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, यस घटनाका कारण नौ जना प्रमुख भिक्षुहरू र मन्दिरका वरिष्ठ भिक्षुहरूलाई बौद्ध धर्मबाट निष्कासित गरिएको छ ।

विलावन अम्सावत ३५ वर्षीया महिला हुन् । उनलाई बैंकक नजिकैको नोन्थाबुरीमा रहेको उनको विलासी घरबाट पक्राउ गरिएको थियो । उनलाई ब्ल्याकमेलिङ, मनी लान्ड्रिङ र चोरीका सामानहरू राखेको आरोप लगाइएको छ । प्रहरीले उनले कम्तिमा नौ भिक्षुहरूसँग यौन सम्बन्ध राखेको बताएको छ ।

जब प्रहरीले उनको मोबाइल फोन जफत गर्यो, उनीहरूले सन्देशहरू र निजी भिडियोहरू फेला पारे, जसमा उनी बौद्ध भिक्षुहरूसँग घनिष्ठ सम्बन्ध राखेको देखिएको थियो । अनुसन्धानले ब्ल्याकमेलबाट प्राप्त रकमको ठूलो हिस्सा अनलाइन जुवामा खर्च गरेको पनि खुलासा गर्‍यो । थाइल्याण्डमा अनलाइन जुवा गैरकानूनी छ ।

द टाइम्सका अनुसार, केही भिक्षुहरूले विलावनसँग सम्बन्ध रहेको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत यी भिक्षुहरूलाई सम्पर्क गर्ने गरेको बताइएको छ । एक भिक्षुले विलावनसँग उनको लामो समयदेखि सम्बन्ध रहेको र उनले उनलाई कार पनि दिएका थिए । तर जब उनलाई थाहा भयो, उनी अर्को भिक्षुसँग पनि डेट गरिरहेकी छिन्, उनीहरूबीच झगडा भयो र त्यसपछि महिलाले उनीसँग पैसा माग्न थालिन् ।

बीबीसीको रिपोर्ट अनुसार, प्रहरीले विलावनले पछिल्लो तीन वर्षमा लगभग ३८ करोड ५० लाख भाट (लगभग १६३ करोड रुपैयाँ) कमाएको विश्वास गर्छ । प्रहरीले उनको घरबाट ८० हजारभन्दा बढी तस्बिर र भिडियोहरू फेला पारेको छ, जसमा उनी विभिन्न बौद्ध भिक्षुहरूसँग यौन क्रियाकलापमा संलग्न छिन् । उनले यी तस्बिर र भिडियोहरू ब्ल्याकमेलिङका लागि प्रयोग गरेकी थिइन् ।

डेली स्टारको रिपोर्ट अनुसार, विलावनले उनको एउटा बच्चा रहेको र सो बच्चालाई उनले एक भिक्षुबाट जन्माएको दाबी गरेकी छन् । प्रहरीले यो कुरा जुनको मध्यमा बैंककको एक प्रमुख मन्दिरकी भिक्षुणीले अचानक भिक्षुत्व छोड्दा प्रकाशमा आएको बताएको छ । यो त्यही समयमा भएको थियो, जब एक महिलाले उनलाई ब्ल्याकमेल गरिन् । वाट त्रिथोत्स्थेप मन्दिरका प्रमुख भिक्षु अचानक गायब भएका थिए । उनी महिलाको ब्ल्याकमेलिङबाट बच्न भागेका थिए र अब महिलाले त्यही भिक्षुलाई आफ्नो बच्चाको बुबा भएको दाबी गरिरहेकी छिन् ।

द टाइम्सका अनुसार, यस घटनामा नौ भिक्षुहरूलाई बौद्ध धर्मबाट निष्कासन गरिएको छ र दुई अझै फरार छन् । थाई संसदको एक समितिले भिक्षुहरूसँग यौन सम्बन्ध राख्ने महिलाहरू विरुद्ध मुद्दा दर्ता गर्न कानून परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । यो प्रस्तावले महिलाहरुलाई आक्रोशित बनाएको छ, किनभने तिनीहरू विश्वास गर्छन्, पुरुषहरूले आफ्नो कार्यको जिम्मेवारी आफैं लिनुपर्छ ।

बैंकक पोस्टका लेखक सानित्सुदा एकाचाईले लेखेका छन्, यो काण्डले शीर्ष भिक्षुहरूमाझ झूट र पाखण्डको प्रणाली रहेको देखाउँछ । यति धेरै घटनाहरू देखा पर्नुले यो कुनै पृथक घटना होइन, तर यो सबै मन्दिरहरूमा सामान्य रूपमा हुन्छ भन्ने देखाउँछ । सानित्सुदा थप लेख्छन्, महिलाहरूलाई लामो समयदेखि भिक्षुहरूको आध्यात्मिक शुद्धताको शत्रुको रूपमा हेरिएको छ । केही मन्दिरहरूको भित्तामा उनीहरूलाई सर्पको रूपमा चित्रण गरिएको छ । त्यसैले आज पनि महिलाहरूलाई भिक्षुणी बन्न अनुमति छैन र अब जब धार्मिक नेताहरूको नैतिक पतन खुलेआम बाहिर छ, दोष महिलाहरूलाई लगाइन्छ र भिक्षुहरूलाई पीडितको रूपमा चित्रण गरिन्छ ।

थाइल्याण्डको ९० प्रतिशतभन्दा बढी जनसंख्याले बौद्ध धर्म मान्छन् र कुनै पनि समयमा देशमा लगभग दुई लाख भिक्षु र ८५ हजार प्रशिक्षार्थी भिक्षुहरू छन् । थाइल्याण्डमा बौद्ध भिक्षुहरूसँग सम्बन्धित धेरै काण्डहरू भएका छन्, जसमा प्रायः यौन सम्बन्ध वा आर्थिक ठगी समावेश छ । यी घटनाहरू सामान्य छन् र बौद्ध संघ भित्र पनि यस्ता घटनाहरू प्रकाशमा आइरहेका छन् । तर यो मुद्दालाई विशेष मानिएको छ किनभने यसमा धेरै उच्च पदस्थ भिक्षुहरू पनि समावेश छन् ।

शनिबार ४ साउन २०८२ ०९:२१ AM मा प्रकाशित

प्रतिक्रिया