काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले ढाकामा हुने एशियन क्रिकेट काउन्सिलको वार्षिक बैठकमा भाग लिन अस्वीकार गरेको छ । यो बैठक २४ जुलाईमा बंगलादेशको राजधानी ढाकामा हुँदैछ ।
मिडिया रिपोर्टका अनुसार बीसीसीआईले बंगलादेशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै बोर्ड त्यहाँको बैठकमा उपस्थित हुन नसक्ने बताएको छ । भारतले एसीसी अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीसँग बैठकको स्थल परिवर्तन गर्न माग गरेको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
तर बीसीसीआईले बैठकको स्थल परिवर्तन नभएसम्म एसिया कपको बारेमा कुनै निर्णय लिन नसकिने स्पष्ट पारेको छ ।
भारतले यस पटक एसिया कप आयोजना गरिरहेको छ र यो प्रतियोगिता टी-२० ढाँचामा खेलाइनेछ । अहिलेसम्म एसीसीले प्रतियोगिताको तालिका वा स्थल घोषणा गरेको छैन, तर यो सेप्टेम्बरमा आयोजना हुन सक्ने विश्वास गरिएको छ । २०२३ मा पनि भारतले पाकिस्तान गएर एसिया कप खेल्न अस्वीकार गरेको थियो, त्यसपछि भारतका खेलहरू श्रीलंकामा आयोजना भएका थिए ।
श्रीलंका, ओमान र अफगानिस्तानका क्रिकेट बोर्डहरू पनि भारतसँगै छन् र ढाकामा हुने बैठकको बारेमा चिन्ता व्यक्त गरेका छन् । यसका बाबजुद पनि एसीसीका अध्यक्ष मोहसिन नक्वी ढाकामै बैठक आयोजना गर्न अडिग छन् ।
एसीसीको संविधान अनुसार, यदि महत्त्वपूर्ण सदस्य बोर्डहरू यस बैठकमा उपस्थित भएनन् भने, त्यहाँ गरिएका निर्णयहरूलाई अमान्य मान्न सकिन्छ । यसले एशिया कप आयोजनाको सम्बन्धमा ठूलो विवाद सिर्जना गर्न सक्छ ।
ढाकामै बैठक आयोजना गर्ने नक्वीको जिद्दीलाई भारतमाथि दबाब दिने प्रयासको रूपमा हेरिएको छ । बैठक आउन अब ५ दिन मात्र बाँकी छ, तर अहिलेसम्म एसीसीबाट कुनै नयाँ स्थानको आधिकारिक घोषणा भएको छैन । यसले सेप्टेम्बरमा हुने सम्भावित एसिया कपलाई खतरामा पारेको छ ।
प्रतिक्रिया