×

एमालेको चुनावी घोषणापत्र-२० हजार सुत्केरी भत्ता, विद्यार्थीलाई २० लाख ऋण (पूर्णपाठसहित)

images

काठमाडौँ- नेकपा एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता र प्रमुख दलहरूबिचको सहकार्यलाई अनिवार्य सर्तका रूपमा अघि सारेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्दै उनले भदौ २४ गतेको घटनालाई नेपालको राष्ट्रिय अस्तित्व र सार्वभौमसत्तामाथि गरिएको योजनाबद्ध प्रहारको संज्ञा दिएका हुन् ।  

अपराधी तत्त्वहरूले 'नयाँ शक्ति' को मुखुण्डो लगाएर देशविरुद्ध अपराध गरिरहेको आरोप लगाउँदै ओलीले त्यस्ता शक्तिलाई समयमै चिन्न मतदाताहरूलाई आग्रह गरे। ओलीले पछिल्लो समय ठुला दलहरूबिच देखिएको सहकार्यलाई राजनीतिक अस्थिरता अन्त्य गर्ने इमानदार प्रयासका रूपमा व्याख्या गरेका छन्। 

ठुला पार्टी मिल्नु संकटको कारण नभई बरु अस्थिरताको चक्र रोक्न चालिएको कदम भएको उनको दाबी छ। संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकबाट प्रणालीमै प्रहार गर्ने उद्देश्यले भदौ २३ र २४ का घटनाहरू गराइएको उनले जिकिर गरे। नयाँ भनिएका पात्रहरूले स्थानीय र संघीय तहमा आफ्नो क्षमता देखाइसकेको भन्दै ओलीले सुशासन र विकासका लागि एमालेको 'ट्रयाक रेकर्ड' प्रमाणित भइसकेको बताए।

घोषणापत्रको सबैभन्दा महत्त्वाकाङ्क्षी नेपालको अर्थतन्त्रको आकारलाई ५ वर्षभित्र १०० खर्ब पुर्‍याउने लक्ष्य हो । हाल नेपालको अर्थतन्त्रको आकार करिब ५३ खर्ब  रुपैयाँ हाराहारी छ । ५ वर्षमा यसलाई झण्डै दोब्बर १०० खर्ब बनाउन नेपालले वार्षिक औसत १५ देखि २० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने हुन्छ । नेपालको ऐतिहासिक औसत आर्थिक वृद्धिदर ४–५ प्रतिशत मात्र रहेको यो लक्ष्यलाई पुरा गर्न कठिन देखिन्छ । 

हाल नेपालीको औसत प्रतिव्यक्ति आय करिब १४ सय अमेरिकी डलरको हाराहारीमा छ । एमालेले यसलाई ५ वर्षमै ३ हजार डलर पुर्‍याउने दाबी गरेको छ । बितेका दशकौँमा हुन नसकेको प्रगति आगामी ५ वर्षमै हासिल हुने आधार घोषणापत्रमा स्पष्ट छैन । यो लक्ष्य भेट्नका लागि उत्पादन र निर्यातमा जुन स्तरको क्रान्ति चाहिन्छ । त्यसको पूर्वाधार अझै तयार भइसकेको छैन ।

पूर्णपाठः 

 

बिहीबार ७ फागुन २०८२ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया