×

बृहत राष्ट्रिय सहमति हुन आवश्यक छ- प्रधानमन्त्री दाहाल

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले कल्पना गरेको  समानतामा आधारित समाजवाद निर्माण गर्न बृहत राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।  ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा उनले राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

दिगो रुपमा शान्ति स्थापित गर्न देशको भूराजनीतिक संवेदनशिलता विश्लेषण गर्न आवश्यक रहेको बताउँदै उनले छमेकीसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध स्थापित गर्न सरकार दृढ रहेको बताए ।  उनले भने,‘संविधानले अवलम्वन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख, अर्थतन्त्रको निमार्ण गर्ने तथा समावेशि आर्थिक समृद्धि हासिल गर्न बृहत राष्ट्रिय सहमति आवश्यकता छ ।’ 

प्रधानमन्त्री दाहालले देशको राजनीति र आर्थिक अवस्था संकटपूर्ण अवस्थामा गुज्रिएको बताए  । जनताको अवस्था बदल्न सरल र सहज सेवा प्रवाह गरि अर्थतन्त्रका चुनौतिहरु सम्बोधन गर्न आवश्यक रहेको उनको भनाई छ ।  उनले भने,‘लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजीक अयामहरुको उच्चतम तथा परिस्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्र प्रतिको गहिरो विश्वास, आत्मीयता तथा व्यवस्थाको रक्षा हुन्छ ।  यो हुँदा निरन्तर विकासका निम्ति अपनत्व बोध पैदा हुन्छ ।’

लोकतन्त्रको संस्थागत सुनिश्चितता, संघीयताको गतिशिल कार्यान्वयन र शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभासगिता हुन आवश्यक रहेको बताउँदै उनले त्यसो हुन सक्दा मात्रै सुदृढिकरण समाजवादको आधार तयार सम्भव हुने बताए ।  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।

समारोहलाई उल्लासमय बनाउन नेपाली सेनाको दुईवटा हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । त्यस्तै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शीर उचाली’ सहित देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो ।
 

आइतबार​ ७ फागुन २०७९ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया