काठमाडौँ — नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्र देखिएको असमझदारी र मतभेदलाई सम्बोधन गर्दै नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने पहल भइरहेको बताएका छन्।
शुक्रबारदेखि सुरु हुने वडा अधिवेशन तोकिएकै समयमा अघि बढ्ने स्पष्ट पार्दै उनले क्षेत्रीय अधिवेशनसम्ममा पार्टीको आन्तरिक विवाद समाधान हुने विश्वास व्यक्त गरे।
लामो समय शेरबहादुर देउवाको समूहमा रहेका नेता विश्वकर्मा बिहीबार गगन थापा नेतृत्वको कांग्रेसमा सहभागी भएका थिए। पार्टी परिवर्तनपछि सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले आफूहरूको मुख्य उद्देश्य नै पार्टीमा देखिएको विभाजन अन्त्य गरी एकता कायम गर्नु रहेको स्पष्ट पारे।
‘भोलिबाट सुरु हुने वडाको अधिवेशन रोकिँदैन। ७/८ गतेसम्ममा केही कुरा मिल्छ भन्ने तहमा छलफल जारी छ,’ विश्वकर्माले भने, ‘गगनजी पनि पार्टी एकताका निम्ति तयार हुनुहुन्छ, शेरबहादुर दाइ पनि तयार हुनुहुन्छ। बीचमा देखिएका केही प्राविधिक तथा वैचारिक समस्या छिटै टुंगिएर जान्छन्।’
आफूहरू देउवाको साथ छाडेर गगन थापा नेतृत्वको पक्षमा उभिनुको कारण पार्टीलाई बलियो र एकीकृत बनाउनु रहेको उनको भनाइ छ। ‘हामीहरू पार्टी मिलाउनका लागि नै देउवा दाइको साथ छोडेर आएका हौँ। उहाँलाई गलत ठानेर हिँडेका होइनौँ। अब उहाँ पुन: नेतृत्वमा आउने विषय छैन, उहाँलाई सम्मानपूर्वक पार्टीमा राख्दै अघि बढ्ने विषय मात्र हो,’ उनले थपे।
कांग्रेसभित्र एकताको वातावरण बनाउन दुवै पक्षबीच निरन्तर संवाद भइरहेको र बाँकी असमझदारी हटेलगत्तै एकता प्रक्रियाले औपचारिक रूप लिने नेता विश्वकर्माले जानकारी दिए।
प्रतिक्रिया