×

'बालेन सरकार' माथि कुलमान घिसिङको गम्भीर प्रहार: "वर्तमान कार्यशैलीले सरकार ५ वर्ष टिक्ने कुनै संकेत छैन"

images

काठमाडौं, २ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकार ५ वर्ष टिक्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले सरकारको पछिल्लो कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै यस्तो टिप्पणी गरेका हुन्

उनले नागरिक र उद्योगी व्यवसायीमा सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा मुलुकमा चरम निराशा बढ्दै गएको आरोप लगाए । "हाम्रो चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने नै हो," घिसिङले भने, "तर अहिलेसम्मको अकर्मण्यता र काम हेर्दा यो सरकार ५ वर्ष टिक्ने कुनै संकेत देखिएको छैन।"
 सत्तारुढ दल रास्वपा र सरकारले बोल्ने बेलामा एउटा र व्यवहारमा अर्कै काम गरिरहेको घिसिङको आरोप छ । ठूलो जनविश्वास र दुई तिहाइ नजिकको जनमत पाएर आएको सरकार जनताका न्यूनतम इच्छा, आकांक्षा र मागहरू सम्बोधन गर्न पूर्ण रूपमा गैरजिम्मेवार बनेको उनले दाबी गरे ।

विगत ३-४ महिनाको अवधिमा देशका विभिन्न स्थानमा ५ जना नेपाली नागरिकले निराशाका कारण आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना भएको उनले स्मरण गराए । यस्तो भयानक निराशाको वातावरण सिर्जना हुनुमा सबैभन्दा बढी जिम्मेवारी वर्तमान सरकारकै रहेको उनको ठहर छ ।

सरकारले जनताको आशा र भरोसालाई समयमै बुझ्न नसकेर झन् निराशामा बदलिरहेमा नेपाल फेरि अर्को ठूलो आन्तरिक द्वन्द्वतिर धकेलिने सम्भावना रहेको उनले चेतावनी दिए । उज्यालो नेपाल पार्टीले सरकारको राम्रो कामको सधैं समर्थन गर्ने तर जनहितविपरीतका निर्णयहरूको कडा प्रतिवाद गर्ने स्पष्ट पारे । सरकारले आफ्नो कार्यशैली नसच्याए आफ्नो पार्टी जनताका मुद्दा लिएर सडक आन्दोलनमा जान बाध्य हुने उनले बताए ।

सम्बोधनका क्रममा अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै क्षणिक स्टन्ट वा सस्तो लोकप्रियताका लागि नभई देशको दीर्घकालीन हितका लागि स्थापना भएको दाबी गरे । विगतमा अन्य दलसँग एकीकरण गर्ने प्रक्रियामा आफूहरूबाट ठूलो राजनीतिक गल्ती भएको स्वीकार गर्दै अब उज्यालो नेपाल पार्टीको अस्तित्व कसैसँग विलय नहुने र आफ्नै एजेन्डामा अघि बढ्ने उनले स्पष्ट पारे

उनले वर्षायाम सकिएलगत्तै देशभरका प्रत्येक स्थानीय तह र ग्रामीण क्षेत्रमा पुगेर जनताका समस्या बुझ्न ३ महिने विशेष राष्ट्रिय अभियान घोषणा गर्ने जानकारीसमेत दिए ]।

शनिबार २ साउन २०८३ ०८:०६ PM मा प्रकाशित

प्रतिक्रिया