काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनमार्फत देशमा व्याप्त कुशासन र बेथिति अन्त्य हुने उद्घोष गरेका छन्। धनगढीमा आयोजित जनसभामा लामिछानेले अब जनताले केवल भोट दिने नभई, नेतासँग ‘कन्ट्र्याक्ट’ गर्ने युग सुरु भएको बताए।
उनले वर्षौंदेखि जनताको मुद्दा मात्र निर्वाचन एजेन्डा बनेर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य आवश्यक रहेको जोड दिए। रास्वपाले नेपालको इतिहासमा पहिलोपटक जनतासँग लिखित ‘पाँच वर्षे कन्ट्र्याक्ट’ गरेको दाबी गर्दै स्थायी पाँच वर्षे सरकारको अपेक्षा व्यक्त गरे। लामिछानेले वाचा पूरा नगर्ने नेताले सजाय पाउनु पर्ने र जनताको सधैं पीडित बन्ने अवस्था अन्त्य गर्न रास्वपा मैदानमा आएको बताए ।
सुदूरपश्चिममा कार्यरत नेपालीहरूलाई सम्बोधन गर्दै उनले मतदान गर्न छुट्टी लिएर भए पनि आउन आग्रह गरे। सिंहदरबारको संरचना मात्र नभई कार्यशैली र नियत पनि बदल्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले पुराना दलहरूले डोजर चलाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको उल्लेख गरे। उनले भने, “३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो?”
सभापति लामिछानेले पनि सम्बोधनको सुरुवात डोटेली भाषाबाटै गरे । ‘ढोग दिया सुदूरपश्चिम, निका छौ ?’ भन्दै उनले सम्बोधनको थालनी गरेका थिए । कार्यक्रममा सुदूरपश्चिमका नागरिकको अधिकार र मुद्दालाई माग बनाएर वर्षाैंसम्म अल्झाउने काम अब बन्द हुनुपर्ने बताए ।
‘सटर त एउटा बन्द हुनुपर्छ,’ उनले भने, ‘कि हाम्रो बन्द हुनुपर्छ, कि यिनको । कुशासनको, बेथिति, बेरोजगारी र अशिक्षाको सटर बन्द गर्ने हो । २१ फागुनमा इतिहास रच्ने हो ।’ २१ फागुनमा भोट हाल्ने नभई इतिहास लेख्ने दिन भएको दाबी उनको थियो । उनले जनताको मागलाई घोषणापत्रमा लेख्ने युगलाई बन्द गर्नुपर्ने बताए । ‘जनताको माग हो, पूरा गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षको स्थायी सरकार मागेका छौँ । पहिलोपटक कुनै राजनीतिक दलले जनतासँग सम्झौता गरेको छ ।’
उनले चुनावमा जसले वाचा गरेको हो, वाचा पूरा नहुँदा सजाय पनि उसैले पाउनुपर्ने बताए । ‘जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने, अनि सजाय पनि भोट दिने जनताले पाउने परम्परा छ,’ उनले भने, ‘अब यस्तो चल्दैन । वाचा पूरा नगर्नेले सजाय पाउनुपर्छ ।’
उनले थपे: “जनताको अधिकार, सुदूरपश्चिमका मुद्दा र बेरोजगारी, अशिक्षा जस्ता समस्याको ‘सटर’ अब बन्द गर्नुपर्छ। इतिहास लेख्ने हो, भोट हाल्ने होइन। अब कुनै नेताले वाचा पूरा नगर्दा जनताले पीडा भोग्ने अवस्था रहँदैन। वाचा गर्नेले सजाय पाउँछन्, जनताले होइन। त्यसका लागि पाँच वर्षे स्थायी सरकार आवश्यक छ। यो पहिलोपटक हो जब कुनै दलले जनतासँग लिखित कन्ट्र्याक्ट गरेको छ।”
भ्रष्टाचार र बेथिति पूर्ण रूपमा हटाउन रास्वपाले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदातालाई आह्वान पनि गरेको छ।
प्रतिक्रिया