×

कोशी सरकारमा नेकपाको इन्ट्री: मन्त्रीहरूको नाम टुङ्गो लाग्दै, शपथ आजै दिउँसो ३ बजे

images

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मन्त्रीहरूको नाम चयनको अन्तिम तयारी थालेको छ। नेकपा एमाले र नेकपाबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार आजै मन्त्रिपरिषद् विस्तार गरी नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ।  

प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजेका लागि तय गरिएको छ।  

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा कुल ९ वटा मन्त्रालयमध्ये नेकपाले ४ वटा मन्त्रालय पाउने सहमति भएको छ। बाँकी मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालयको नेतृत्व एमालेले गर्नेछ।  

यसअघि नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि खाली रहेका भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण र स्वास्थ्य वा कृषि मन्त्रालय नेकपाको भागमा पर्ने सम्भावना रहेको छ।  

नेकपाबाट सरकारमा सहभागी हुने आकांक्षी धेरै भएपछि संसदीय दल र शीर्ष नेताहरूबीच आन्तरिक छलफल तीव्र बनेको छ। मन्त्रीका लागि जीवन आचार्य, गोम्बु शेर्पा, खिनु लिम्बू, राजन किराँती र दुर्गा चापागाईंका नाम प्रमुख दाबेदारका रूपमा हेरिएको छ।  

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार मन्त्रीहरूको नाम टुङ्गो लाग्नासाथ मुख्यमन्त्री कार्कीलाई सिफारिस पठाइनेछ।

सोमबार १ भदौ २०८३ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया