काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबबाट खेल्ने भएकी छन् । साम्बाले अस्ट्रेलियाको प्रिमियर वुमन लिग निन्जा ए लिग खेल्न वेलिंगटन फिनिक्स फुटबल क्लबसँग दुई बर्षको सम्झौता गरेकी हुन् । क्लबले साम्बालाई दुई बर्षका लागि अनुबन्ध गरेको जानकारी दिएको छ ।
साम्बालाई अनुबन्ध गरेपछि फिनिक्सका अन्तरिम मुख्य प्रशिक्षक एमी शेफर्डले असाधारण क्षमताको प्रमाणित गोल स्कोररलाई अनुबन्ध गरेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्- 'हामी साबित्रालाई फिनिक्स ह्वानाउमा स्वागत गर्न पाउँदा गर्व गर्छौं र उनले मैदान भित्र र बाहिर दुवैमा पार्ने प्रभावको लागि तत्पर छौं ।'
गत सिजनमा वेलिंगटन फिनिक्स लिगमा नवौं स्थानमा रहेको थियो । फिनिक्सले पछिल्लो चार सिजन देखि अस्ट्रेलियाको प्रिमियर वुमन लिग खेलिरहेको छ ।
यसअघि साम्बाले दुई सिजन फ्रान्सको ए डिभिजन वुमन लिगमा इए गुइङ्ग्याम्पबाट खेलेकी थिइन् । साम्बाले गुइङ्ग्याम्पबाट अलग भएकोप्रति भनेकी छन्- हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद । हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ । हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु । जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ ।
साम्बाले गुइङ्ग्याम्पमा दुई सिजनमा २९ खेलमा ७ गोल गरेकी थिइन् ।
प्रतिक्रिया