×

पशुपतिनाथको दर्शनका लागि आएका साधु-सन्तलाई मंगलबार दान दक्षिणासहित बिदाई गरिने

images

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधु-सन्तलाई मंगलबार दान दक्षिणासहित बिदाई गरिने भएकाे छ ।

फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधु-सन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औंसीका दिन मंगलबार बिदाई गर्ने परम्परा रहेकाे जनाएकाे हाे। १८३१ सालमा जंगबहादुरका जेठा छोरा जगतजंगले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा शुरु भएको संस्थानका पूर्वउपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए ।

बिदाईका लागि संस्थानले करिब ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि साधु-सन्तलाई आएकै दिन बाँडिएको थियो । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पूर्वउपप्रशासक पाण्डेले जानकारी दिनुभयो ।

नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ । पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न ठाउँमा गरी करिब चार हजार साधु-सन्त रहेका छन् । प्रत्येक ठाउँमा फरक सम्प्रदायका साधु रहेका कोषले जनाएकाे हाे ।

मङ्गलबार ५ फागुन २०८२ ०९:४२ AM मा प्रकाशित

प्रतिक्रिया