×

सरकार खरानीको डल्लो होइन, लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्, : प्रधानमन्त्री ओली

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा दसैंपछि सरकार परिवर्तन हुन्छ भन्ने कुरा चलेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता कुरा भ्रम भएको र ती भ्रमहरूमा नपर्न आग्रह गरेका हुन ।  ‘दशैंपछि तुरुन्त परिर्वतन हुन्छ रे’, उनले अगाडि भने, ‘कुनै दशैं भन्या ? ०८४ को दशैंपछि चुनावमा ? ठीकै हो ।’

अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार ।’

देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे । 'नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन,' ओलीले भने, 'एमाले र कांग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो यो ।’

सरकार परिवर्तनको विषयमा हल्ला चलेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 'विभिन्न प्रकारका कुनाकाच्पाबाट पनि आवाज आउने गरेका छन् । म स्पष्ट भन्न चाहन्छु–अहिलेको संविधान जनतामा सार्वभौमसत्ता रहेको, जनता शक्तिको स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली यसको रक्षा गर्दै अघि बढ्नुपर्दछ । धेरै कुरामा कम्प्रोमाइज (सम्झौता) हुन सक्दछ । तर प्रणालीको कुरामा हुन सक्दैन । लोकतन्त्रको कुरामा कम्प्रोमाइज हुन सक्दैन,' ओलीले भने, 'लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ । चुनाव गरौँ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्न पाउँछन्, चुनावका माध्यामबाट ।'
 

बुधबार ३० असोज २०८१ ०७:१७ PM मा प्रकाशित

प्रतिक्रिया