×

म पशुपतिनाथ पुज्ने हिन्दु हुँ, तर देशमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्छ: देउवा

images

काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको न्यायालयप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन्। काठमाडौँको सुकेधारामा आयोजित संस्थापन इतर पक्षको तीन दिने राष्ट्रिय भेलाको समापन सत्रलाई सम्बोधन गर्दै उनले अदालतको ढोका ढकढकाएकै कारण आफू सुरक्षित रूपमा स्वदेश फर्कन सफल भएको खुलासा गरे।

सिंगापुरमा ५ महिना लामो उपचार पूरा गरी हालै स्वदेश फर्किएका देउवाविरुद्ध पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय रेड नोटिस जारी गर्ने प्रयास भएको सन्दर्भ जोड्दै उनले अदालतप्रति आभार प्रकट गरे ।

नेपालको राजनीतिक इतिहासलाई स्मरण गर्दै नेता देउवाले पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शासनकालमा समेत अदालतले आफूलाई न्याय दिएको बताए। "मलाई राजाले शाही आयोगमार्फत थुन्दा पनि अदालतले नै उक्त आयोग खारेज गरेर बचाएको हो," उनले थपे, "अहिले पनि न्यायालयकै न्यायका कारण म नेपाल फर्कन पाएको छु । सर्वोच्च अदालतलगायत सबै अदालतप्रति मेरो पूर्ण विश्वास छ [।"

पार्टीभित्र गत पुस/माघमा संस्थापन इतर (गगन–विश्वप्रकाश) पक्षले एकलौटी रूपमा आयोजना गरेको विशेष महाधिवेशनविरुद्ध आफूहरू विधिको रक्षाका लागि अदालत गएको उनले प्रस्ट पारे। जबरजस्ती गरिएका निर्णयहरू सच्याउन अदालतले पुनरावलोकनको बाटो खोलेको र अन्तिम फैसलाबाट आफूहरूले न्याय पाउनेमा उनी पूर्ण विश्वस्त देखिए ।

सनातन हिन्दु राष्ट्र र धार्मिक पहिचानका विषयमा भेलाका प्रतिनिधिहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै देउवाले आफ्नो धार्मिक आस्थाबारे स्पष्ट धारणा राखे । उनले आफू परम्परागत संस्कारमा हुर्किएको, व्रतबन्ध र विवाह हिन्दु परम्परा अनुसार नै गरेको र नियमित रूपमा पशुपतिनाथको पूजा गर्ने हिन्दु भएको बताए ।

"म व्यक्तिगत रूपमा हिन्दु हुँ, यो कुरा म गौरवका साथ भन्न सक्छु," देउवाले भने, "तर आफू हिन्दु हुनुको अर्थ अन्य धर्मलाई निषेध गर्नु होइन । नेपालमा मुस्लिम, क्रिस्चियन, किरात र बौद्धलगायत सबै धर्मावलम्बीहरूलाई आफ्नो धर्म मान्ने पूर्ण स्वतन्त्रता हुनुपर्छ । देशमा धार्मिक व्यवस्था के हुने भन्ने कुरा अन्ततः नेपाली जनताकै निर्णयमा भर पर्छ ।"


 

आइतबार​ ३१ साउन २०८३ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया