×

घट्यो निक्षेपको ब्याजदर

images

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनअघि नै ब्याजदर तोक्नुपर्ने व्यवस्थाअनुसार उनीहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

प्रकाशित ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबि बैंकले ७.४१ प्रतिशत दिनेछन् । यी बैंकले साउनको तुलनामा ब्याजदर ०.१२ प्रतिशत बिन्दुले घटाए पनि सर्वाधिक ब्याज दिने बैंकको सूचीमा शीर्ष स्थानमा यथावत् छन् । यस्तै सबैभन्दा कम ब्याज दिने बैंक नेपाल बैंक हो । बैंकले मुद्दती निक्षेपमा सबैभन्दा कम ५.२५ प्रतिशत ब्याज दिनेछ ।

प्रकाशित ब्याजदर अनुसार हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ७ प्रतिशत ब्याज दिने भनेका छन्। सञ्चालनमा रहेका २० मध्ये सिटिजन्स र प्राइमले मात्र ब्याजदर बढाएका हुन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत् राख्दा अरु १२ बैंकले ब्याजदर घटाएका हुन् ।

भदौका लागि सबैभन्दा बढी दरले ब्याजदर घटाउने बैंक नेपाल बैंक हो । बैंकले १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ भने बढी दरले घटाउनेमा प्रभु बैंक पनि अगाडि छ । यससँगै बैंकहरुको औसत अधिकतम ब्याजदर ६.७३ प्रतिशतबाट ०.१८ बिन्दुले घटेर ६.५६ प्रतिशत कायम भएको छ ।

शुक्रबार​ ३२ साउन २०८१ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया