जनकपुरधाम । मधेश प्रदेशमा खानेपानी संकट गम्भीर बनेको छ । लगातारको सुक्खा र भूमिगत जलस्रोत सुक्दै जाँदा उत्पन्न संकटपछि प्रदेशका विभिन्न जिल्लामा खानेपानीको व्यापक संकट उत्पन्न भएको हो ।
प्रदेश सरकारले खानेपानीको संकट टार्न वारुणयन्त्र र ट्याङ्कर परिचालन शुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र बुधवार बिहानदेखि संकटग्रस्त क्षेत्रमा खटाइएको छ । एक वारुणयन्त्रमा ५ हजार लिटर क्षमताको पानी अट्ने हुँदा एकपटकमा ४० हजार लिटर पानी वितरण गरिने बताइएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले बुधवार बिहान वारुणयन्त्रहरूलाई प्रभावित क्षेत्रतर्फ पठाउँदै प्रदेश सरकार नागरिकको जीवनसँग जोडिएको आधारभूत सेवाको गम्भीरतापूर्वक सम्बोधनमा जुटेको बताए । उनले खानेपानीको संकट समाधानका लागि प्रदेश सरकार दिनरात क्रियाशील रहेको बताउदै यसमा नेपाली सेनाको सहकार्य उल्लेखनीय रहेको बताए ।
प्रदेश सरकारले पठाएका वारुणयन्त्रहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा परिचालित हुने उनले बताए । यिनको व्यवस्थापन प्रदेश सरकारमार्फत हुनेछ भने सञ्चालन नेपाली सेनाले गर्ने मुख्यमन्त्री सिंहले जानकारी दिए ।
यसअघि प्रदेश सरकारले वन कार्यालयको तीनवटा ट्याङ्कर प्रयोग गरेर पानी आपूर्ति गरिरहेको थियो । त्यसका साथै नेपाली सेनाबाट पनि थप ७ वटा ट्याङ्कर र १ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको प्रदेश सरकारले बताएको छ ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह र दातृ निकायहरूसँगको समन्वयमा स्रोत साधनको अधिकतम प्रयोग गरेर समाधान खोजिरहेको बताए ।
प्रतिक्रिया