×

रोकिएन बैंकहरूको ब्याजदर घट्ने क्रम: साउनका लागि ८ बैंकले घटाए ब्याजदर, यस्तो छ नयाँ सूची

images

काठमाडौं, ३२ असार ।  बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थपिँदै गएपछि वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रम साउन महिनामा पनि जारी रहेको छ । आगामी साउन महिनाका लागि सार्वजनिक गरिएको नयाँ ब्याजदर तालिका अनुसार ८ वटा वाणिज्य बैंकले ब्याजदरमा कटौती गरेका छन् । 

बैंकहरूमा निक्षेप सङ्कलन लगातार बढ्ने तर सोही अनुपातमा कर्जाको माग हुन नसक्दा सिर्जना भएको अधिक तरलता र कोषको लागत (कस्ट अफ फण्ड) घटाउन बैंकहरूले ब्याजदर ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएका हुन् । बाँकी १२ वटा वाणिज्य बैंकले भने असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् । 

साउन महिनाका लागि ब्याजदर घटाउने निर्णयको नेतृत्व राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ प्रतिशत विन्दु र संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत विन्दु र एनएमबी बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।  

ब्याजदर घटेसँगै साउनमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारको ४.२६ प्रतिशतबाट घटेर ४.१७ प्रतिशतमा झरेको छ । 

साउन महिनाका लागि ब्याजदर घटाउने ८ बैंकको विवरण (सूची):

क्र.सं. बैंकको नाम ब्याजदर परिवर्तनको विवरण (परिवर्तित दर)
राष्ट्रिय वाणिज्य बैंक  व्यक्तिगतमा ०.७५% र संस्थागतमा १% बिन्दुले घटाई अधिकतम ४% कायम 
ग्लोबल आइएमई बैंक व्यक्तिगततर्फ ०.५०% र संस्थागततर्फ ०.२५% बिन्दुले कटौती 
एनएमबि (NMB) बैंक व्यक्तिगततर्फ ०.२५% र संस्थागततर्फ ०.५०% बिन्दुले घटाई ४.५०% कायम 
सिटिजन्स बैंक इन्टरनेसनल व्यक्तिगतमा ०.१५% र संस्थागतमा ०.५०% बिन्दुले कटौती 
कृषि विकास बैंक संस्थागत मुद्दती निक्षेपतर्फ ०.०३% बिन्दुले ब्याजदर कटौती 
कुमारी बैंक व्यक्तिगत मुद्दती निक्षेपतर्फ मात्र ०.०६% बिन्दुले ब्याजदर कटौती 
स्ट्यान्डर्ड चार्टर्ड बैंक व्यक्तिगत मुद्दती निक्षेपको दरमा ०.१०% बिन्दुले कटौती 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक व्यक्तिगत तथा संस्थागत मुद्दती ब्याजदर समायोजन/कटौती

 प्रभु र नबिलमा सर्वाधिक ब्याज, नेपाल बैंकद्वारा संस्थागत दर वृद्धि

साउन महिनाका लागि सार्वजनिक दर अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर प्रदान गर्नेछन् । सबैभन्दा कम ब्याजदर भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको (अधिकतम ३.८५ प्रतिशत) रहनेछ । 

यसैबीच, चौतर्फी रूपमा ब्याजदर घटिरहेको अवस्थामा नेपाल बैंक लिमिटेडले भने संस्थागत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर बढाएको छ । बैंकले ४ वर्ष वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपमा ब्याजदर १ प्रतिशत विन्दुले बढाएर ४ प्रतिशत पुर्‍याएको छ । 

निक्षेपको ब्याजदर लगातार ओरालो लागेसँगै वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) समेत घट्नेछ । यसका कारण आगामी दिनहरूमा बैंकबाट कर्जा वा ऋण लिने ग्राहकहरूका लागि ऋणको ब्याजदर थप सस्तो हुने र बजारमा कर्जा प्रवाह बढ्ने अनुमान गरिएको छ । 

बिहीबार ३२ असार २०८३ ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया