काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित भएको छ। गएराति लखनउमा सम्पन्न खेलमा चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
लखनउका लागि मिचेल मार्शले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ९ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले। यस्तै, जोश इंग्लिसले ३६ तथा निकोलस पूरनले ३२ रन बनाए। चेन्नईका मुकेश चौधरी र स्पेन्सर जोन्सनले एक–एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो। चेन्नईका कार्तिकले शर्माले ४२ बलमा ६ चौका ५ छक्कसहित ७१ रनको उत्कृष्ट इनिङ खेले। यस्तै, शिवम दुबेले ३२, तथा डेवाल्ड ब्रेभिसले २५ रनको योगदान दिए। लखनउका आकाश सिंहले सबैभन्दा बढी ३ विकेट लिए।
यो जितपछि पनि अंक तालिकाको अन्तिममै रहेको लखनउको १२ खेलबाट ८ अंक छ। पराजित भएको चेन्नई समान खेलबाट १२ अंकसहित छैटौँ स्थानमा छ।
प्रतिक्रिया