काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
यससँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ । पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनको पक्षमा कांग्रेसको लिगेसी औपचारिक रुपमा गएको हो ।
आज दुबै पक्षका नेता कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर आ–आफ्ना दलील पेश गरेका थिए । अहिले निर्वाचन आयोगको कार्यालयअगाडि शेरबहादुर देउवा र गगन थापा पक्षका समर्थकहरु भेला भएका छन् । यससँगै गगन थापा पक्षका समर्थकहरु उत्साहित भएका छन् भने शेरबहादुर देउवा पक्षधर समर्थकले नाराजुलुस गरिरहेका छन् । अहिले आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
गगन थापा पक्षधरले सभापति देउवाको मञ्जुरीबिना विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसको कलह चुलिएको हो । राजधानीको भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनले गगन थापालाई पार्टीको सभापति चयन गरेको छ ।
उता, आफूखुशी विशेष महाधिवेशन आयोजना गरेको भन्दै देउवा पक्षले विद्रोही नेताहरु गगन थापासहित विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि कांग्रेस फुटको अवस्थामा पुगेको हो ।
नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।
कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो ।
प्रतिक्रिया