×

पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरूको धम्कीले आयोग प्रभावित हुनु हुँदैन : विश्वप्रकाश शर्मा

images

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको पूर्णबहादुर खड्काको धम्कीबाट निर्वाचन आयोग प्रभावित हुन नहुने बताएका छन्। निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा खड्काले उक्त कुरा बताएका हुन्।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आज केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए।

उक्त अभिव्यक्तिप्रति कटाक्ष गर्दै शर्माले भने, ‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौं। निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौं। निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौं ।’

उपसभापति शर्माले त्यसक्रममा आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुको अवस्था र कारणबारेसमेत प्रस्ट पारेका थिए। उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको दाबीसमेत गरेका छन्।

विशेष महाधिवेशन मागकर्ताहरू विधानअनुसार नै अघि बढेकाले देउवाको कारबाहीको कुनै औचित्य नभएको उनको भनाइ थियो। ‘नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही होइन। विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्थालाई हामीले सम्बोधन गरेर अघि बढाएका हौं,’ उनले जिकिर गरे। 

आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले विधिसम्मत रुपमा फिर्ता नभएको हस्ताक्षरलाई खारेज गरिएको बताएका हुन् । उनले २९ जनाले मात्रै समयमा हस्ताक्षर फिर्ता गरेको जानकारी दिए । अन्य साथीहरुको हस्ताक्षर फिर्तालाई नेपाली कांग्रेसकाे केन्द्रीय समितिले खारेज गरेको उनको दाबी छ । उनले हस्ताक्षर गर्ने र फिर्ता लिने निश्चित समय हुने पनि बताए ।

महाधिवेशन सकिएर गाउँ फर्किसकेपछि फिर्ता गरिएको हस्ताक्षर आफूहरुलाई मान्य नहुने उनको भनाइ छ । उनले भने, ‘कसैले हस्ताक्षर गर्नुभएको छ र त्यो फिर्ता लिनुभयो भने अनौठो मान्नु हुँदैन । तर त्यो दर्ता गर्ने एउटा म्याद हुन्छ, फिर्ता गर्ने पनि म्याद हुन्छ । समयावधि भित्र फिर्ता भएकाे संख्या २९ जना हो । जम्मा २९ जनाले मात्रैले यसबिचमा विशेष महाधिवेशनको लागि दर्ता गरेपछि फिर्ता गरेका हुन् ।’

उनले थप भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यलयबाट हस्ताक्षर गर्ने साथीहरुको हस्ताक्षर सनाखत गराइएको भए, सनाखत गरेको बेलामा कुनै साथीले फिर्ता गर्नुभएको भए, निर्वाचन आयोगले त्यसलाई नगरेको भन्ने बुझ्ने हुन्थ्यो । विशेष अधिवेशन चलिरहेको बेलामा फिर्ता लिएको भए पनि फिर्ता मान्न मिल्थ्यो ।  गाउँ फर्किसकेको कोही साथीको नाम चाहीँ अचानक हस्ताक्षर फिर्ता भनेर आउँछ भने त्यसलाई मैले धेरै टिप्पणी गर्न चाहन्न । तर यो युक्तिसंगत विल्कुल होइन । त्यो कपोकल्पित छ, पूर्णरुपमा खारेजयोग्य छ।’

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका थिए । 

 
 

शुक्रबार​ ३ माघ २०८२ ०७:२८ PM मा प्रकाशित

प्रतिक्रिया