काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको हो । जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो चलचित्र पछि सरेर असोज १३ मा पुगेको हो ।
निर्माण कम्पनि सेभेन सिज नेपालले भनेको छ- 'भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन स्थगित गरेका थियौँ । तर अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ । नेपाली भाषामा असोज १३ गते (फूलपातीको दिन)देखि देशभर तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ ।'
हिन्दी भाषामा भने असोज १७ गतेदेखि भारतमा तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ । निर्माता विनोद पौडेलले भदौ २७ गते नै रिलिज हुने भनेर प्रचार गरेकाले धेरै बजेट पब्लिसिटीमा लगानी भइसकेकाले लामो समय दर्शकलाई होल्ड गर्न नसकिने बताए । विदेशमा पनि शो लिइसकेकाले धेरै पर जान नसकेको उनले प्रष्ट पारे ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।
शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।
प्रतिक्रिया