×

लगानी सम्मेलन फलदायी बनाउन संवाद

images


लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलनलाई फलदायी बनाउन प्रदेशका जिल्लामा लगानी संवाद सुरु गरेको छ । लगानी सम्मेलनको पूर्वअभ्यासका रुपमा जिल्लाका उद्योगी व्यवसायीका सुझाव सङ्कलनका लागि संवाद र छलफल सुरु गरिएको लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बताउनुभयो ।

नेपालगञ्जमा आज आयोजित लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री खड्काले लगानी सम्मेलन प्रचारवाजीका लागि मात्र नभई प्रदेशमा उद्योगधन्दा सञ्चालनमा रहेको समस्या पहिचान गरी उद्यमशिलता र रोजगार बढाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गर्न लागिएको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले सङ्घीय र स्थानीय सरकारसँग समन्वय गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले पर्यटन, कृषि र उद्योगलाई प्राथमिकता दिई नेपालभित्रै नेपालीले रोजगारी पाउने वातावरण बनाउन काम गरिरहेको बताउनुभयो । 

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले प्रदेशका सबै जिल्लाका उद्योगी व्यवसायी समेटिनेगरी विभिन्न चरणमा लगानी संवाद गरेपश्चात लगानी सम्मेलन गर्ने तयारी रहेको बताउनुभयो । लगानी सम्मेलनमा मझौला र कुटिर उद्योगलाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।

मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले चार÷पाँच वटा परियोजनामा लगानी भित्रिने गरी पुष वा माघतिर लुम्बिनी लगानी सम्मेलन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्योगी व्यवसायीले राज्यलाई कर तिरेर पनि सेवा पाउन नसकेको गुनासो गर्दै उद्योगका लागि विद्युत् शुल्क र कर्जामा सहुलियत हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख राजेश पन्त, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, विभिन्न जिल्लाका उद्योगी व्यवसायीले लगानी सम्मेलनका बारेमा बोल्नुभएको थियो ।

बिहीबार ३० भदौ २०७९ ०२:०९ PM मा प्रकाशित

प्रतिक्रिया