×

जलवायु संकट र हिमाली विपद्‌बारे मन्थन गर्न मुस्ताङमा जुट्दै जनप्रतिनिधि: ‘घरपझोङ घोषणापत्र’ जारी गरिने

images

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ मङ्गलबारदेखि विधिवत् रूपमा सुरु भएको छ। जलवायु परिवर्तनले हिमाली तथा तराई क्षेत्रमा पारेको गम्भीर प्रभाव र भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बिनाशकारी बाढीको क्षतिको समीक्षा गर्ने मुख्य उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।

गाउँपालिकाद्वारा आयोजित उक्त सम्मेलनको उद्घाटन सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुभएको हो। उद्घाटन समारोहअघि जोमसोमस्थित गाउँपालिका कार्यालयबाट सातै प्रदेशका जनप्रतिनिधि तथा अतिथिहरू सांस्कृतिक झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए।

उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले पठाउनुभएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो।

सम्मेलनका प्रमुख एजेन्डा र छलफलका विषयहरू:

  • जलवायु संकटको समीक्षा: हरितगृह ग्यास उत्सर्जनका कारण बढ्दै गएको तापमान वृद्धि, हिमाल पग्लिने क्रम र यसले कृषि, पशुपालन, पर्यटन तथा पूर्वाधारमा पारेको बहुआयामिक प्रभावबारे गहन चर्चा हुनेछ।

  • भोटेकोशी बाढीको क्षति समीक्षा: रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे समीक्षा गर्दै आगामी दिनमा हिमाली तथा पहाडी भेगमा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका रणनीति तयार गरिनेछ।

  • जलवायु घोषणापत्र २०८३: विश्वव्यापी चिन्ताको विषय बनेको जलवायु संकट न्यूनीकरणका लागि स्थानीय तहहरूले अपनाउनुपर्ने भावी रणनीति समेटेर सम्मेलनको समापनमा ‘जलवायु घोषणापत्र २०८३’ जारी गरिनेछ।

विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, वातावरणविद् र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको यो सम्मेलनले हिमाली क्षेत्रको अनुकूलन क्षमता अभिवृद्धि गर्न र एकीकृत योजना बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मङ्गलबार ३० भदौ २०८३ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया