काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जिम्मेवार र विनम्र भएर कार्यसम्पादन गर्न सुझाव दिनुभएको छ। नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीका क्रममा उहाँले नयाँ नेतृत्व तथा सरकारका प्रतिनिधिहरूलाई अहङ्कार त्यागेर परिपक्व रूपमा अघि बढ्न आग्रह गर्नुभएको हो।
सरकारमा नयाँ व्यक्तिहरूको सहभागिता रहेकाले राज्य सञ्चालन (स्टेट क्राफ्ट) को अनुभव हासिल गर्न केही समय लाग्ने उल्लेख गर्दै डा. भट्टराईले कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु नै अहिलेको सही बाटो भएको बताउनुभयो।
कुराकानीका क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को कार्यशैलीबारे टिप्पणी गर्दै डा. भट्टराईले उहाँको ‘परिणाममुखी काम गर्ने शैली’ सकारात्मक रहेको बताउनुभयो। बाहिरी प्रचारभन्दा चुपचाप काम गर्ने शैली प्रशंसनीय भए पनि वर्तमान संवैधानिक व्यवस्थाअनुसार संसद्प्रति उत्तरदायी हुनुपर्ने दायित्वबाट पन्छिन नमिल्ने उहाँले प्रस्ट पार्नुभयो।
नेपालजस्तो भू-राजनीतिक रूपमा संवेदनशील मुलुकमा वैदेशिक चासोलाई पूर्णतः नकार्न नसकिने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले दुष्प्रचार वा आरोपबारे सरकारले समयमै स्पष्टीकरण दिनुपर्ने बताउनुभयो।
प्रतिक्रिया