जोमसोम । नेपाल–चीन उत्तरी कोरला नाकादेखि भन्सार यार्डमा जाँच नगरी सिधै सिल लगाएर शङ्कास्पद रूपमा मालवस्तु ओसारपसार गरिरहेको अवस्थामा आठ वटा मालबाहक कन्टेनरहरूलाई मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्ट तथा जोमसोम–कोरला सडक खण्डका विभिन्न स्थानबाट ती कन्टेनर र चालकहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार भन्सारको मुख्य यार्डमा आवश्यक कानुनी प्रक्रिया र चेकजाँच पूरा नगरी सिधै सिल लगाइएका कारण यी कन्टेनरहरू समातिएका हुन्। यसका साथै मनसुनका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कोरला सडकमा रात्रिकालीन समयमा सवारी चलाउन निषेध गरिएको नियम विपरीत लुकाइछिपाइ सामान ल्याइँदै गरेको पाइएको छ।
प्रहरीले नियन्त्रणमा लिएका कन्टेनर र चालकहरूको विवरण यस प्रकार छ:
१. ना ६ ख ४७४१ – चालक: ईश्वर थापा (धादिङ)
२. को १ ख ५६९६ – चालक: रत्न बहादुर तामाङ (दोलखा)
३. बा प्र ०१-००६ ख २२४८ – चालक: उद्धव बस्नेत (दोलखा)
४. बा प्र ०१-००६ ख ६२७३ – चालक: धर्म बहादुर नेपाली (पाल्पा)
५. ना ३ ख ७१६० – चालक: कर्म शेर्पा (सिन्धुपाल्चोक)
६. ना ६ ख २०२२ – चालक: निरोज नेपाली (सिन्धुपाल्चोक)
७. बा प्र ०१-००६ ख ६६११ – चालक: विशाल तामाङ (काभ्रेपलाञ्चोक)
८. बा प्र ०१-००५ ख २२४५ – चालक: गोपाल श्रेष्ठ (सिन्धुपाल्चोक)
कन्टेनरभित्र ठुलो परिमाणमा अवैध मालवस्तु वा भन्सार छलीका सामग्री हुनसक्ने बलियो आशङ्का भएपछि प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। नियन्त्रणमा लिइएका आठ वटै कन्टेनर र चालकहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा टोली खटाएर ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ।
विगत वर्षको भदौ ३१ देखि व्यावसायिक रूपमा पूर्ण सञ्चालनमा आएको कोरला नाकामा पछिल्लो समय राजस्व छली गर्ने गिरोह सक्रिय हुन थालेको प्रहरीको अनुमान छ। यसअघि पनि उक्त नाकाबाट करोडौँ मूल्य बराबरका अवैध विद्युतीय चुरोट (भेप) हरू सुरक्षा निकायले नियन्त्रणमा लिइसकेको पृष्ठभूमि छ।
प्रतिक्रिया