काठमाडौँ, ३१ असार । उत्पादनको उचित मूल्य नपाएको र बजारमा बिचौलियाको बिगबिगी बढेको भन्दै आक्रोशित किसानहरूले काठमाडौँको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्।
बुधबार बिहानै विभिन्न कृषि फार्म र काठमाडौँ उपत्यका वरपरका क्षेत्रबाट गोलभेँडा बोकेर माइतीघर पुगेका किसानहरूले सडकमै गोलभेँडा खन्याएर सरकारको ध्यानाकर्षण गराएका हुन्।
आन्दोलनमा सहभागी किसान बम तामाङका अनुसार किसानहरूले ठूलो लगानी र मिहिनेत गरेर उत्पादन गरेको गोलभेँडाले बजारमा लागत मूल्य समेत पाउन सकेको छैन। उपभोक्ताले बजारमा महँगो मूल्य तिर्नुपरे पनि वास्तविक किसानले भने अत्यन्तै न्यून मूल्य पाउने वा बिक्री नै नहुने अवस्था सिर्जना भएको उनले बताए।
"हामीले रातदिन पसिना बगाएर फलाएको गोलभेँडा कौडीको भाउमा पनि बिक्री नहुने अवस्था आयो," तामाङले भने, "बजारमा बिचौलियाको एकाधिकार तोडिनुपर्छ र किसानले आफ्नै उत्पादनको उचित मूल्य पाउनुपर्छ भनेर हामी सडकमा आउन बाध्य भएका हौँ।"
बारीमा कुहिएर जाने अवस्था आएपछि किसानहरूले आफ्नो पीडा र आक्रोश व्यक्त गर्न सांकेतिक रूपमा माइतीघरको सडक रोजेका हुन्। प्रदर्शनकारी किसानहरूले कृषि क्षेत्रमा भइरहेको चरम शोषण अन्त्य गर्न, शीतभण्डार (कोल स्टोरेज) को व्यवस्था गर्न र बजार व्यवस्थापनमा सरकारले ठोस नीति ल्याउन माग गरेका छन्।
सडकमा गोलभेँडा फ्याँकिएपछि केही समय माइतीघर क्षेत्रको यातायात प्रभावित भएको थियो भने प्रहरीले किसानहरूलाई सडक खुलाउन आग्रह गरेको थियो। किसानहरूले आफ्ना माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।
प्रतिक्रिया