×

भिजिट भिसा प्रकरणमा सत्तापक्ष सग भएको २ बुँदे सहमतिमा कुनै लेनदेन भएको छैन-उपमहासचिव वर्षमान पुन

images

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा सत्तापक्ष र आफ्नो दलबीच भएको २ बुँदे सहमतिमा कुनै लेनदेन नभएको स्पष्टीकरण दिएका छन् ।

उनले सदनको अवरोध खुलाउनको लागि भएको २ बुँदे सहमतिलाई लिएर नेता अग्नि सापकोटाको मुद्दासँग साटेको भनेर गरिएको टिप्पणीमा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘निष्पक्ष रूपमा छानबिन हुनुपर्छ हाम्रो माग छ, अहिले देखिएको कुरा गम्भीर छ छानबिन हुनुपर्छ तर यो अहिले मात्र होइन विगतमा पनि भएको छ ।’

उनले केहीले भिजिट भिसा प्रकरणमा सहमति गर्नुमा माओवादी आफैले पनि गृह मन्त्रालय चलाएकाले तर्सिएको हो कि भनेर प्रश्न गरे पनि माओवादी नतर्सिएको दाबी गरे । 

‘होइन माओवादी तर्सिएको छैन । आफ्ना नागरिकलाई भिजिट भिसा लगाएर लाने र मानव तस्करी गर्ने, नागरिकले त्यहाँ दुख पाउने र राज्यले केही गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न हामी तयार छौ’, पुनले भने, ‘सरकार तयार भएको छ ।’

‘दुई बुँदे सहमति गर्दा पूर्व सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको प्रसङ्गहरू जोडेर माओवादी तर्सियो वा लेनदेन गर्‍यो भनेजसरी प्रचार भएको छ । त्यसो होइन कुनै लेनदेन भएको छैन’, उनले भने, ‘अग्नि सापकोटाको मुद्दा अदालतमा रहेका कुरा हुन् । यद्यपि पूर्णपाठ आएपछि त्यसको धारणा बनाउँछौ । त्यसैले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दा कुनै लेनदेनको विषय होइन । सत्तातिर वा सरकारतिर वा माओवादी गलेको कुरामा सत्यता छैन यसमा भ्रम नरहोस् ।’

‘खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी लगायत हामी प्रतिपक्षी दलहरूले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं’, पुनले भने । यो विषय सदन बाहिर पनि उठेको उनले बताए । नैतिकताको विषय व्यक्तिको निजी विषय हुने उनले बताए । पार्टीहरूले, जनताले नैतिकताको कुरा सम्बन्धित व्यक्तिलाई सुझाव दिने विषय रहेको बताए ।

गृहमन्त्रीले राजीनामा नदिने र सबै प्रकारका छानबिनका लागि तयार रहेको बताएपछि सरकारले एक महिनाभित्र छानबिन हुने प्रतिवद्धतापछि आफूहरु सदन खोल्न तयार रहेको बताए ।

यो विषयमा सहमतिमा आउन रास्वपालाई समेत आग्रह गरेको पुनले स्मरण गरे । मुख्य विषय भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने रहेको उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन निश्पक्ष ढंगले अगाडि बढ्ने र विगतमा समेत भएको समस्या र नीतिगत तथा संरचनात्मक विषय केलाउन छानबिन चाहेको बताए ।

आइतबार​ १ असार २०८२ ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया