×

परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र हो- प्रचण्ड

images

रुपन्देही। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको बताएका छन्। रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई  सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

‘पछिल्लो समय जहाँ गएँ, त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन,’ उनले भने ।

जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको पनि उनले दाबी गरे । अध्यक्ष प्रचण्डले भने, ‘जनताले मनमनै फैसला गरिसकेको छ । जनतालाई माया गर्ने पार्टी माओवादीले हो, परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ ।’

माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएको उनको भनाइ छ ।

आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए ।

‘भ्रष्टाचारी विरुद्धको कारबाही अगाडि बढाउदा म प्रचण्ड नै अगाडि देखिएँ त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो,’ उनले भने, ‘मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मिहिनेत गरियो । त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो ।’

यसैको प्रभाव स्थानीय तह निर्वाचनको नतिजामा पनि देखिएको भन्दै उनले भने, ‘भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्धिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ । को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ ।’

सरकार छाड्ने बेला केही मिडियाले माओवादी अब सिद्धिने भयो भनेर नियोजित दुष्प्रचार गरेको उल्लेख गर्दै प्रचण्डले माओवादी २०८४ को चुनावमा २०६४ साल फर्काउने गरी जनमत बढाउँदै गएको बताए ।

विगतमा माओवादीले आफ्ना एजेण्डा समात्ने र आफ्नो वर्ग समुदायसँग नजिक हुने मुद्दामा केही कमजोरी गरेको स्वीकार्दै उनले अब त्यो गल्ती नदोहोर्याउने बाचा गरे ।

उनले भने, ‘म खुसी व्यक्त गर्न चाहन्छु हाम्रो पार्टीमा विभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने लहरले माओवादी केन्द्र बन्ने दिशामा छ भन्ने देखिएको छ। ठूलो बलिदानमार्फत देशमा सबै वर्गको हक अधिकार स्थापित गरेका छौं। जनताले पाएको अधिकार खोस्न खोजिएको छ हामी त्यसो हुन दिँदैनौं।’

शनिबार २९ मंसिर २०८१ ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया