विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्ध कदम चालेको दाबी गरेका छन् । शनिबार मोरङको ग्रामथानमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तको गिरफ्तार र सुशासनको सुई बालकोट र बूढानीलकण्ठ सोझिँदा आफ्नो सरकार ढलेको बताएका हुन्।
‘सुशासनको सुई बालकोट सोझियो, बुढानीलकण्ठतिर पनि सोझियो। जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो एउटा डर, भय उत्पन्न भयो,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनको सुई बालकाेट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालिएकाे उनले आरोप लगाए । तर, आफू सरकारबाट निस्कँदा पनि विजेताको भावमा जनतामा आएको बताउँदै सरकारमा रहनेहरूको भने डरले गएको साताे अझै नफर्किएको दाबी गरे । अहिलेको सरकार बन्ने गठबन्धनलाई उनले तथाकथित गठबन्धन भएको आरोप लगाए ।
पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काङ्ग्रेस-एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए ।
उनले जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्याउने दाबी गरे । भूमाफिया, भ्रष्टाचार, मिटरब्याजीहरूकाे विरुद्धमा काम गरेकै कारण माओवादी ठुलो पार्टी बन्नै पर्ने उनले बताए ।
अहिलेको सरकार भ्रष्टाचारको भयबाट बनेको र छुट्टयाइएको बजेट पनि दुरुपयोग हुनसक्ने बताए । दुई तिहाइको सरकार छ भनेर दम्भ देखाए भने बंगलादेश हेर्दा हुन्छ भनेर भनेको भन्दै उनले शतप्रतिशत मत ल्याएको सद्दाम हुसेनकाे उदाहरण हेर्न सुझाव दिए ।
‘मैले खबरदारी मात्रै गरेको हो, कांग्रेस एमाले नेताहरुले भनेजस्तो बंगलादेश बनाइदिन्छु भनेको होइन!, उनले भने ‘ ‘मैले सम्झाएको मात्र छु, दुई तिहाइको तपाईहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बंगलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो ।’
‘राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीका बीचमा गठबन्धन भयो र सरकार बदलिने परिस्थिति बन्यो,’ अध्यक्ष प्रचण्डले भने।
प्रचण्डले यसपटक पनि बंगलादेशबाट पाठ सिक्न सत्ता गठबन्धनलाई चेतावनी दिएका छन्।
प्रतिक्रिया