×

दुर्गा प्रसाईंको गर्जन: वर्तमान सरकारले देश जलायो, राजसंस्थाबिना राष्ट्रको रक्षा सम्भव छैन

images

काठमाडौँ, भदौ २९- विवादास्पद व्यवसायी एवं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान राजनीतिक नेतृत्व र सरकारका कारण देशको अर्थतन्त्र तहसनहस भएको र युवाहरू विदेशिन बाध्य भएको आरोप लगाउनुभएको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डता जोगाउन अब राजसंस्थाको पुनर्बहाली अपरिहार्य भइसकेको जिकिर गर्नुभयो। 

वर्तमान शासकहरूले जनतालाई राहत दिनुको साटो निराशा मात्र बाँडेको भन्दै उहाँले अहिलेको व्यवस्था र नेतृत्वको विकल्प खोज्ने बेला आइसकेको उल्लेख गर्नुभयो। प्रसाईंले विगतमा देश र व्यवस्था परिवर्तनका नाममा भएका हिंसात्मक गतिविधिप्रति लक्षित गर्दै आफू अराजकता वा विध्वंसको पक्षमा नरहेको स्पष्ट पार्नुभयो। 

उहाँले भन्नुभयो, "मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन। देश जलाउनु पनि छैन, सिंहदरबार जलाउनु पनि छैन। म अर्काको घर जलाऊँ भनेर त जान्नँ। तिमीहरूले यत्रो देश जलाएर सत्तामा आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि त।" सरकार आफैँले गलत नीति र कार्यशैली अपनाएर देशलाई सङ्कटतर्फ धकेल्ने अर्थात् 'देश जलाउने' काम गरेको उहाँको भनाइ थियो। 

देशको वर्तमान भू-राजनीतिक र आन्तरिक राजनीतिक अवस्थालाई विश्लेषण गर्दै प्रसाईंले नेपालको ऐतिहासिक पहिचान र राष्ट्रिय एकताको संरक्षण शाह वंशीय राजसंस्थाले मात्र गर्न सक्ने दाबी गर्नुभयो। नेपालका परम्परागत शक्ति र संस्थाहरूलाई कमजोर बनाउँदा राष्ट्रको रक्षा संयन्त्र नै कमजोर भएको उहाँको तर्क थियो। यसै क्रममा उहाँले आफूलाई कुनै बाह्य शक्ति वा सङ्गठनसँग जोडेर भ्रमपूर्ण प्रचार गर्ने गरिएको भन्दै त्यस्ता आरोपहरूको खण्डनसमेत गर्नुभयो। 

देशको आर्थिक अवस्थामाथि टिप्पणी गर्दै प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ लगानीयोग्य पूँजी थुप्रिएर बस्दा पनि बजार चलायमान हुन नसकेको बताउनुभयो। 

सरकारसँग स्पष्ट आर्थिक दृष्टिकोण र नीतिगत स्थायित्व नभएका कारण उद्योगी व्यवसायीहरू मारमा परेको उहाँको भनाइ छ। "देशमा शान्ति-सुरक्षा र लगानीको सुरक्षित वातावरण नभएका कारण आन्तरिक मात्र होइन, बाह्य लगानी समेत आउन सकेको छैन," भन्दै प्रसाईंले वर्तमान शासकहरू असफल भइसकेकाले आम नागरिक जागरुक हुनुपर्नेमा जोड दिनुभयो। 

सोमबार २९ भदौ २०८३ ०९:३४ PM मा प्रकाशित

प्रतिक्रिया