×

चर्चामा आउन दूषित मनसायले पूर्वडीआईजी खरेल म विरुद्ध सुनियोजितरूपमा लागे

images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चर्चामा आउन दूषित मनसायले पूर्वडीआईजी रमेश खरेल आफूविरुद्ध सुनियोजितरूपमा लागेको बताएका छन् । घिसिङले बुधबार एक प्रेस विज्ञप्तिमार्फत चर्चामा आउनकै लागि खरेलले सामाजिक सञ्जालमा गलत विवरण सार्वजनिक गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्– ‘खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहित स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो ।

पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहिताको ठाडो उल्लंघन तथा सञ्चारमाध्यमकै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्यरूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले कसैको उक्साहटमा मेराविरुद्धमा प्रचार भइरहेको थियो र छ ।’
खरेलबाट आफूविरुद्ध आफैँ न्यायिक निकायजस्तो बनेर दोषी करार गर्ने भएको उनको भनाइ छ । उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नाले चर्चामा आउनु रहेको घिसिङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


‘अंशबन्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्ररूपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमान्दारीपूर्वक सञ्चालन गरिरहेका छन् ।

मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रस्ट पार्न चाहन्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन्,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बुधबार ३० साउन २०८१ ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया