×

देउवालाई कोइरालाको जवाफ: 'पार्टीभित्र कसैको निरंकुशता चल्दैन, बहसले कांग्रेस फुट्दैन झन् बलियो हुन्छ'

images

काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीलाई विधिसम्मत र संस्थागत ढङ्गले चलाउनुपर्नेमा जोड दिँदै नेतृत्वको स्वेच्छाचारी प्रवृत्तिको कडा आलोचना गर्नुभएको छ। राजधानीमा जारी इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसभित्र विचारको स्वतन्त्रता भए पनि नेतृत्वले कसैलाई पाखा लगाउने वा निरंकुश बन्ने प्रयास गरे त्यो पार्टी पंक्तिलाई मञ्जुर नहुने चेतावनी दिनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन सत्रमा विशेष महाधिवेशनको मागलाई 'पार्टी कमजोर बनाउने खेल' भनी टिप्पणी गरेको भोलिपल्टै डा. कोइरालाले त्यसको कडा प्रतिवाद गर्नुभएको हो । उहाँले भन्नुभयो:

"हामी पार्टीलाई विधानसम्मत चलाउनुपर्छ र आन्तरिक लोकतन्त्रलाई जीवित राख्नुपर्छ भनिरहेका छौँ। कांग्रेस जनअधिकारका लागि लडेको पार्टी हो, त्यसैले पार्टीभित्र कसैको पनि निरंकुशता वा एकाधिकार हामी स्वीकार्दैनौँ।"

पार्टी फुट्ने डर र संशयका बीच कोइरालाले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै कांग्रेस अन्ततः एकताबद्ध हुने दाबी गर्नुभयो । उहाँले यो भेला कसैलाई कमजोर बनाउन वा पार्टी फुटाउन नभई कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउने गरी बलियो बनाउन आयोजना गरिएको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, "हामीभित्र मतभेद हुन सक्छन्, तर यो विचारको मन्थन हो। पार्टी रूपान्तरणको एजेन्डामा छलफल भएर अन्तिममा कांग्रेस एक ढिक्का हुनेछ, यसमा म पूर्ण विश्वस्त छु ।"

भेलामा सातै प्रदेशका ५ हजारभन्दा बढी प्रतिनिधिहरू माझ बोल्दै कोइरालाले नेविसंघ, तरुण दल लगायतका भ्रातृ संगठनहरू वर्षौँदेखि तदर्थवादमा चल्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो। उहाँले आगामी नियमित वा विशेष महाधिवेशन जे भए पनि पार्टीको जग बलियो बनाउन जगैदेखि निर्वाचन हुनुपर्ने र संगठनलाई गतिशील बनाउन ढिलाइ गर्न नहुने बताउनुभयो।

शुक्रबार​ २९ साउन २०८३ ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया