×

बरु सरकार छोड्छौं,तर भ्रष्टाचारीलाई उन्मुक्ति दिदैनौ- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । बुधबार बिहान मा‌ओवादी निकट प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीसँग उनले यस्तो बताएका हुन्। अहिले सत्ता टिकाउनकै लगि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने शंका उत्पन्न भएकोमा बरु सरकार छाड्ने तर भ्रष्टाचारीलाई उन्मुक्ति नदिने उनले बताएका हुन्।

'भ्रष्टाचार काण्डमा बरु सरकार छाडेर जनतामा जान उचित हुन्छ, बरु सरकार छाड्न परे परोस्, गलत सम्झौता गर्न हुँदैन भन्ने पक्षमा छौँ,' प्रधानमन्त्रीले भने। भ्रष्टाचारविरुद्धको अभियान जारी रहने पनि उनले बताए।

उनले यतिबेला आफू संसद्‌मा 'वन मेन आर्मी' जस्तो हुनुपरेको बताए। 'जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरुले सकेसम्म भाँड्ने प्रयास गरेको देखिन्छ,' उनले भने, 'ओलीहरू देख्नुभयो नि! लोकतन्त्रको नम्स भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिराखेको छु। हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु। बोल्नै नदिने भनेर तलका मान्छेलाई बोल्न दिने कुरा भयो सभामुखबाट। हुँदै नहुने कुरो थियो नि!'

आफूले बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुने भए पनि बोल्दाबोल्दै आफूलाई अपमानित गरिएको पनि उनले बताए।  प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भनेर सोचिएको बताए । उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति-सम्झौता ऐतिहासिक भएको प्रचण्डले बताएका छन् ।

एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’

भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल-भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकी लगायतका विषयमा भएका सम्झौता ऐतिहासिक भएको प्रचण्डको दाबी छ । प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नाङ्गिदै गएको बताए ।

उनले भने, ‘प्रमुख प्रतिपक्ष दल लगायतका नयाँ भनिएका दलले सरकारले राम्रो काम गर्‍यो भनेर हाम्रा विरुद्ध सदनदेखि सडकसम्म अवरुद्ध सृजना गरिरहेका छन् । तर, उनीहरू सदनदेखि सडकसम्म नांगिदै गएका छन् । हामीले राम्रो काम गर्दा भ्रष्ट्राचार र सुशासनका देखावटी नारा लगाउने नयाँ दलका मुद्दा पनि खोपिएका छन् ।’

बुधबार ३१ जेठ २०८० १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया