काठमाडौं । नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका नेपालाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कारवाहीको निर्णय गर्दै विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ ।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए ।
देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरेका थिए । तर देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको छ ।
कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहनेबीचको संघर्ष विभाजनको तहमा पुगेको हो । कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको छ । पार्टीले निष्कासनको घोषणा गरेपछि गगन थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताए । उनले भने– ‘मैले इतिहास बनाएको पार्टी हो आन्दोलन हाँकेको पार्टी हो ।’
कांग्रेसको देउवा पक्षले पार्टी चुनावमा जानुपर्ने अवस्थामा अहिले विशेष महाधिवेशन गर्न नसक्ने अडान राख्दै आएको थियो । नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति पनि केन्द्रीय कार्यसमितिले तय गरेको थियो । तर कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूंले यसअघि नै विशेष महाधिवेशनको माग गरेका थिए । तर नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशन हुननसक्ने भन्दै संस्थापन पक्षले अडान लिएको थियो । विशेष महाधिवेशन पक्षधरहरूले भने विधानको व्यवस्था भएकाले यसलाई नजरअन्दाज गर्न नहुने अडान राखेका थिए ।
संस्थापनको कारबाहीलाई गगनले ठाडै खारेज गर्दै भने, ‘हामीलाई कारबाही गरिएको सुनेका छौं । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । म ९ कक्षामा पढ्दादेखि नै कांग्रेस हुँ । २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२ र ०६३ को आन्दोलनको त नेतृत्व नै गरेको थिएँ । कसैले हटायौं भन्दैमा हट्ने होइन । के तपाईँले मलाई आफ्नै घरबाट निकाल्नुभएको हो रु यो कसैको निजी फर्म होइन ।’
प्रतिक्रिया