काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो।
सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १६, डिआर्ची शर्टले १४ र निरोशान डिकवेलाले ११ रन बनाएका थिए । त्यसैगरी सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले १३, हरमित सिंह र स्कट कुगेलाइनले १०-१० रन बनाएका थिए ।
त्यसैगरी लुम्बिनीका बलर कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेलम्यान र शेर मल्लले ३-३ विकेट लिएका थिए भने तिलक भण्डारीले विकेट लिएका थिए । यस खेलमा कप्तान पौडेलले ह्याट्रिक लिएका थिए ।
गत सिजनमा पुछारमा रहेको लुम्बिनीले एनपीएलको पहिलो उपाधि जितेको छ । उपाधि जितेसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख नगद पाएको छ । त्यसैगरी तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो स्थान हासिल गरेको काठमाडौँ गोर्खाजले १५ लाख नगद प्राप्त गरेको छ ।
यस्तै उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् ।
यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर टुसम्म पुगेको थियो ।
उदीयमान खेलाडी भने लुम्बिनी लायन्सका शेर मल्ल चुनिए । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उत्कृष्ट तीनै जनाले पुरस्कारका रूपमा बाइक पाए ।
प्रतिक्रिया