झापा । झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै खोलामा विद्युतीय प्रयोग गरी माछा मारे कारवाही गर्ने जनाएको छ । गत साउन १२ गते भद्रपुर–४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर–७ का ४० वर्षीय भोटलाल गणेशको मृत्यु भएको थियो । भद्रपुर–४ स्थित आमडाँगीमा इलाम टि–प्रोडुसर प्रालिको निर्माणाधीन भवनमा काम गर्दै आएका उनी सोही निर्माणाधीन भवनको करिब तीन सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्न गएका उनको घटनास्थमै मृत्यु भयो ।
गत शनिबारमात्रै जिल्लाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एक–एक जनाले सोही क्रममा ज्यान गुमाए । बुद्धशान्ति–२ मा आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीले बुद्धशान्ति–३ स्थित कुलोको पानीमा करेन्ट लगाइ माछा मार्ने क्रममा अकालमा ज्यान गुमाए भने सोही दिन मेचीनगर–५ स्थित हडिया खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा मेचीनगर–११ धाइजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारका क्रममा मृत्यु भयो ।
यस्तै हल्दिबारी गाउँपालिका–५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय खोला–नालामा विद्युत् प्रवाह गरी माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर अकालमै बर्सेनि कैयौँले अकालमै ज्यान गुमाउने गरेका छन् । सो क्रममा अधिकांशको घटनास्थलमै र केहीको उपचारका क्रममा मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया