×

कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तार गरिने

images


सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ । 

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले जनाएको छ । सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँबायाँ दुवैतर्फ ‘सर्भिस लेन’ थप एकएक लेनमा निर्माण गरिने र     विभिन्न स्थानमा सवारीसाधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा  जनावरका लागि सडक पार गर्न संरचना बनाइने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “झण्डै आठ ठाउँमा जनावरका लागि पास बनाइने गरी डिजाइन भइरहेको छ ।”  वातावरणीय अध्ययन तथा सर्वेक्षणको काम सम्पन्न भएर सडक तथा पुलहरु डिजाइन भइरहेको छ । 

जम्मा १३० किमी लम्बाइको सडकमा झण्डै ७६ पुल निर्माण हुने भएको छ । बागमती, बकैया र कमला खोलामा गरी तीन स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने भएको छ । डिजाइनमा नै सवारीसाधन एक सय किमी प्रतिघण्टाका दरले गुड्ने गरी र कतिपय स्थानमा ७५ किमी गुड्नसक्ने  छ । सडक विस्तारका लागि जग्गा अधिग्रहण गर्न नपर्ने भएपनि कतिपय स्थानमा भइरहेका संरचना हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “केही पसल र घरका थोरै संरचना हटाउनुपर्ने हुनसक्छ ।” उक्त सडक सन् २०२७ सम्ममा निर्माण गरिने  अनुमान गरिएको  र यसको लागत अनुमान रु ६४ अर्ब रहेको छ । 

सरकारले पूर्वपश्चिम राजमार्गको सबै खण्ड चार लेनमा विस्तार गर्ने गरी प्रक्रिया अघि बढाएको छ । कतिपय खण्डमा निर्माण अघि बढी सकेको छ भने कतिपय प्रक्रियामा रहेको छ । विस्तार भइरहेका सबै खण्डमा सहरी क्षेत्रमा ‘सर्भिस लेन’ निर्माण गर्ने गरी डिजाइन भएको छ । आरक्षण क्षेत्र आसपासका क्षेत्रमा जनावरमैत्री सडक निर्माण गरिने भएको छ । 

मङ्गलबार २८ भदौ २०७९ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया