×

सुन्दर भविष्यका लागि २० वर्षमै विवाह गर्नुस्, छिटो सन्तान जन्माउनुस्- प्रधानमन्त्री ओली

images

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए । 

उनले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गरे । आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेको भन्दै प्रधानमन्त्री ओलीले युवाहरुले यसका लागि सोच्नुपर्ने बताए ।

देशमा अलिअलि समस्या भएर पनि हो । बाहिर जाने लहरले पनि होला, रहरले पनि होला,’ उनले भने,‘ठूलो संख्यामा युवाहरु बाहिर गएका छन्, यस कुरालाई रोक्नुपर्छ ।’

उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने बताए ।

मङ्गलबार २९ साउन २०८१ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया