स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको अनुगमन गरेको छ । प्रतिष्ठानमा अर्काको नाममा रहेको बीमा कार्ड प्रयोग गर्नेको सङ्ख्या बढेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“प्रतिष्ठानको अनुगमनमा भर्ना भएका ९० प्रतिशत बिरामीले स्वास्थ्य बीमा कार्ड अनधिकृत रूपमा प्रयोग गरेको पाइएको छ ।” पहिलो पटक अनुगमन भएकोले धेरैलाई सचेतसमेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका संयोजक रावतले जानकारी दिनुभयो ।
अर्काको नाममा प्रयोग भएका बीमा कार्डसमेत जफत भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल र सुरक्षा निकायलगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीको सहभागितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन भएको थियो ।
जिल्लाभर करिब ६० हजार बढीले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहले पालिकाभित्रका गरीब, एकल महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्क जस्ता कार्यक्रम लागू गरेका छन् ।
प्रतिक्रिया