×

कान्तिपुरसहित तीन मिडिया हाउसअगाडि शंकास्पद गाडी: कान्तिपुरको गेटमा भेटिएको गाडी रास्वपा केन्द्रीय सदस्यको भएको खुलासा

images

काठमाडौँ, २९ असार । काठमाडौँका तीन वटा ठूला सञ्चार गृह (मिडिया हाउस) को मुख्य गेट सडकमा सोमबार बिहानै गुडिरहेका गाडीहरू शंकास्पद रूपमा बेवारिसे छाडिएको अवस्थामा फेला परेका छन्। कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको मूल ढोकामै गाडी राखेर बाटो अवरोध गरेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

यसैबीच, कान्तिपुर पब्लिकेसन्सको थापाथलीस्थित गेटमा शंकास्पद रूपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको कार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताले प्रयोग गर्ने गरेको खुलेको छ। प्रहरी र स्थानीय स्रोतका अनुसार उक्त गाडी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य रवि जयसवालले चढ्ने गरेका थिए। जयसवाल रौतहट निवासी हुन् र उनी रौतहटकै गरुडा नगरपालिकाका प्रमुख (मेयर) कन्थमणि प्रसाद कलवारका छोरा हुन्।

मेयर कलवारले आफ्ना छोराले उक्त गाडी चढ्ने गरेको स्वीकार गरेका छन्। उनले भने, "हो, उक्त नम्बर प्लेटको गाडी मेरो छोरा रविले नै चढ्दै आएको थियो। गाडी किनेको करिब एक महिना जति भयो। तर, अहिलेसम्म नामसारी भइसकेको छैन, बैंककै नाममा (सानिमा बैंक) दर्ता छ।"

जयसवाललाई गत जेठ ८ गते रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनीत गरेका थिए। उनी केही महिना अगाडि मात्रै नेकपा एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए।

सोमबार बिहानै कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा एकै प्रकृतिका गाडीहरू यसरी छाडिएका थिए। बिहानै मिडियाका कर्मचारी र गाडी आउजाउ गर्ने मुख्य बाटो नै थुन्ने गरी गाडी राखिएपछि यसलाई नियोजित 'राजनीतिक स्टन्ट' वा सञ्चार गृहमाथिको नयाँ शैलीको दबाब र अराजकताको रूपमा हेरिएको छ।

घटना लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन भएको थियो। प्रहरीले तीनवटै मिडिया हाउस अगाडि राखिएका ती गाडीहरूलाई क्रेनको मद्दतबाट हटाइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गाडीहरू नियन्त्रणमा लिएर घटनाको थप सूक्ष्म अनुसन्धान भइरहेको छ। गाडीहरू त्यहाँ कसले र किन छाड्यो भन्नेबारे सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणमार्फत खोजी भइरहेको प्रहरीले जनाएको छ।

सोमबार २९ असार २०८३ ०५:०० PM मा प्रकाशित

प्रतिक्रिया