काठमाडौँ । जेनजी (GenZ) अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानुनी ढङ्गले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाउँदै आफ्नो जीवन रक्षाको माग गरेका छन् । गत शनिबार कीर्तिपुरबाट पक्राउ परेका अन्सारी पक्राउका क्रममा घाइते भएपछि हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा उपचाररत छन् ।
सोमबार अस्पतालको बेडबाटै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न नागरिक समाज, सांसद र अन्तर्राष्ट्रिय मानव अधिकार समुदायसँग अपिल गरेका हुन् । अभियन्ता अन्सारीका अनुसार असार २७ गते शनिबार साँझ करिब ५ बजेतिर १०–१२ जनाको संख्यामा आएका प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यस क्रममा आफूमाथि लछारपछार र कुटपिट गरी गम्भीर घाइते बनाइएको उनले दाबी गरेका छन् ।
अस्पतालबाटै उनले लेखेका छन्, “मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी नै देखाइएको छ । मेरो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता छैन ।”
आफूलाई कुन आधारमा र किन नियन्त्रणमा लिइयो भन्नेबारे अन्योलमा रहेका अन्सारीले यसबारे स्पष्ट पार्न गृहमन्त्री र प्रहरी प्रमुख (आईजीपी) सँग आग्रह गरेका छन् । आफूविरुद्ध लक्षित गरेर किन यस्ता गैरकानुनी कारबाहीहरू भइरहेका छन् भन्दै उनले प्रश्न समेत उठाएका छन् । आफूमाथि अन्याय भएको भन्दै उनले देश भित्र र बाहिरका मानव अधिकारवादी संघसंस्थाहरूलाई ध्यानाकर्षण गराएका छन् ।
“म सबै सम्बन्धित अधिकारीहरू, सङ्घीय सांसदका सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु,” अन्सारीले माग गरेका छन् ।
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ताहरूलाई नियन्त्रणमा लिने क्रममा अनुहार लगायत शरीरका अन्य भागमा चोट लागेपछि अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो ।
यसैबिच, प्रमुख राजनीतिक दलका नेताहरूले पनि यस घटनाप्रति चासो देखाउन थालेका छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरूले टिचिङ अस्पताल पुगेर अन्सारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । महामन्त्री शर्माले सरकारले बल प्रयोग गरेर जनता र अभियन्ताहरूको आवाज दबाउन खोजेको भन्दै आपत्ति समेत जनाएका छन् । घटनाको चौतर्फी विरोध र मानव अधिकारको उल्लंघन भएको भन्दै नागरिक समाजले पनि चासो बढाउन थालेको छ ।

प्रतिक्रिया