काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको सही सम्मानसँगै र वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृढ हुने बताएका छन् । आगामी निर्वाचनमा रुकुम पूर्वका उमेदवारसमेत रहेका प्रचण्डले भूमे–२, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै फागुन २१ केवल गौरवमय अतीतको स्मरण मात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गरे । सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मसाल यही दिन प्रज्वलित गरेको उनले बताए ।
सम्बोधनको क्रममा प्रचण्डले जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांग र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरे ।
रुकुम पूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै प्रचण्डले यही ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गरे । महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि संघर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको इतिहास उनले उल्लेख गरे ।
चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी)को बैठकको निर्णयबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको चर्चा गर्दै रुकुमको ऐतिहासिक भूमिकालाई स्मरण गरे । वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै प्रचण्डले देश जटिल अवस्थाबाट निर्वाचनको संघारतर्फ अघि बढिरहेको बताए ।
भदौ २३ गते सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका युवामाथि गोली चलेको र त्यसपछि उत्पन्न असहज अवस्थाप्रति प्रचण्डले चिन्ता व्यक्त गरे । युवाहरूको आक्रोशलाई व्यवस्थाविरोधी तत्वहरूले विध्वंसतर्फ मोडेको भन्दै उनले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सबै सचेत हुनुपर्ने बताए ।
पञ्चायती व्यवस्थाविरुद्ध रुकुमका जनताको संघर्ष स्मरण गर्दै उनले ‘किलो सेरा’ जस्ता दमनकारी अभियानका बाबजुद जनताले विद्रोहको बाटो नछोडेको उल्लेख गरे । हजारौँ जनताको बलिदानकै कारण आज खुला रूपमा सरकारको आलोचना गर्न सक्ने वातावरण बनेको उनको भनाइ थियो । इतिहासलाई वर्तमानसँग जोडेर मात्रै सुदृढ भविष्य निर्माण गर्न सकिने उल्लेख गर्दै उनले जनयुद्धका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायका पक्षमा एकताबद्ध हुन आह्वान गरे ।
प्रतिक्रिया