×

ब्रेकिङ: सुदूरपश्चिमका मुख्यमन्त्री शाह राजीनामा दिँदै, कांग्रेस दलको बैठक डाकियो

images

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेपछि आगामी रणनीति तय गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ। विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिने तयारी गरेका छन्। 

गत असार ३१ गते सत्ता साझेदार दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमालेका मन्त्रीहरू बाहिरिएसँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको हो। 

संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। उक्त ३० दिने समयसीमा भोलि समाप्त हुँदैछ। प्रदेश सभामा विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखेपछि मुख्यमन्त्री शाहले संसद्को सामना गर्नुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। 

आज दिउँसो २:०० बजेका लागि नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान गरिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, मुख्यमन्त्रीको राजीनामा र पार्टीको भावी रणनीतिका विषयमा सघन छलफल हुने बताइएको छ। मुख्यमन्त्री शाहले राजीनामा दिनुअघि दलका सांसदहरूसँग अन्तिम परामर्श गर्न लागेका हुन्। 

मुख्यमन्त्री शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाए लगत्तै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको औपचारिक संवैधानिक प्रक्रिया सुरु हुनेछ। केन्द्रमा भएको राजनीतिक सहमतिअनुसार सुदूरपश्चिममा अब नेकपा (माओवादी केन्द्र/एकीकृत समाजवादी) र एमालेको नयाँ गठबन्धन अन्तर्गत सरकार बन्ने तयारी छ। सहमति अनुसार नयाँ सरकारको नेतृत्व नेकपाले गर्ने तयारी भइरहेको बुझिएको छ। 
 

बुधबार २७ साउन २०८३ १०:१७ AM मा प्रकाशित

प्रतिक्रिया