×

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र वितरणको म्याद थपियो, हालसम्म साढे ५ लाख बढी डिजिटल प्रणालीमा आबद्ध

images

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो 'जरा अभियान' अन्तर्गत सञ्चालन गरिरहेको क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरण कार्यको समयावधि थप गरेको छ। यसअघि जेठ २८ गते राति १२ बजेसम्मका लागि निर्धारण गरिएको समयसीमा समाप्त भए सँगै पार्टीले अर्को सूचना जारी नभएसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको हो।

विशेष गरी इन्टरनेटको पहुँच नभएका उच्च हिमाली तथा विकट पहाडी क्षेत्र, केही विशिष्ट जिल्लाहरू (जस्तै: बारा र खोटाङ) र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी कार्यलाई अझ व्यवस्थित र समावेशी बनाउन म्याद थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

सदस्यता अद्यावधिकको हालसम्मको अवस्था

नेपाली कांग्रेसले उपलब्ध गराएको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार देशभर सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अघि बढेको छ:

  • कुल योग्य सदस्य संख्या: ७ लाख ८२ हजार २०९ जना

  • डिजिटल परिचयपत्र (NC ID) प्राप्त गर्ने: ५ लाख ३८ हजार ६२२ जना (उनीहरूले वडा सभापतिमार्फत अनलाइन प्रणालीबाट आफ्नो परिचयपत्र प्राप्त गरिसकेका छन्)।

  • प्रक्रियामा रहेका सदस्य: १ लाख ४९ हजार ३०९ जना (उनीहरूले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् र हाल वडा सभापतिमार्फत विवरण प्रमाणीकरणको प्रक्रियामा छन्)।

प्रविधिमैत्री बन्दै कांग्रेस: फर्जी सदस्यता अन्त्यको दाबी

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ पहिलोपटक डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण अभिलेखीकरण गर्न लागेको हो।

विगतका महाधिवेशनहरूमा नेताहरू आफैँले कार्यकर्ताको फाराम भरिदिने गर्दा देखिने 'फर्जी संख्या' को अन्त्य गर्दै यसपटक हरेक कार्यकर्तालाई आफ्नै मोबाइल वा वेबसाइटमार्फत आफैँ सचेत भएर अनलाइन फाराम भर्न अनिवार्य गरिएको छ। नेताहरूका अनुसार यस प्रणालीमा दर्ता भई प्रमाणीकरण भएका वास्तविक क्रियाशील सदस्यहरू मात्रै आगामी महाधिवेशनमा सहभागी हुन र मतदान गर्न योग्य हुनेछन्।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेल र प्राविधिक टोलीले डिजिटल प्रणालीलाई थप सहज बनाउन निरन्तर अनुगमन गरिरहेको छ। प्राविधिक समस्या वा प्रक्रियागत अन्योल भएमा आ-आफ्नो वडा सभापतिको सहयोग लिई यथाशीघ्र आफ्नो विवरण प्रणालीमा प्रविष्ट गराउन कांग्रेसले आफ्ना सम्पूर्ण जिम्मेवार नेता तथा कार्यकर्ताहरूमा अपिल गरेको छ।

शुक्रबार​ २९ जेठ २०८३ १०:५३ AM मा प्रकाशित

प्रतिक्रिया