काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका व्यक्ति मुस्तकिम मिँयालाई प्रहरीले अपहरण तथा शरीर बन्धकको गम्भीर आरोपमा पक्राउ गरेको छ। मिँयाको गिरफ्तारीले नेपाली राजनीति र प्रशासनिक नियुक्तिमा हुने ‘शक्ति-संरक्षण’ को कुरूप पाटोलाई पुनः सतहमा ल्याइदिएको छ।
सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज–३ बस्ने २७ वर्षीय मुस्तकिम मिँयामाथि लागेको आरोप सामान्य छैन। प्रहरीमा परेको किटानी जाहेरी अनुसार, उनले एक व्यक्तिलाई नियन्त्रणमा लिई एकान्त ठाउँमा बन्धक बनाएका मात्र छैनन्, बरु अमानवीयताको पराकाष्ठा नाघ्दै पीडितको कपडा खोली नग्न बनाएर भिडियो समेत खिचेका छन्। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र यो घटनाले कानुनी मोड लिएको हो।
भिडियो सार्वजनिक भएपछि पनि सुरुवाती चरणमा प्रहरीले मिँयालाई पक्राउ गर्न खुट्टा कमाएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भयो। तर, जनस्तरको दबाब र प्रमाणका रूपमा रहेको भिडियोका कारण अन्ततः प्रहरीले उनलाई राजविराज–८ बाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार, अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ । मन्त्री यादवले २०८२ चैत २७ गते उनलाई ‘मो. मुस्तकिम’ को नाममा नियुक्ति दिएका थिए, जबकि प्रहरी अभिलेखमा उनी ‘मुस्तकिम मिँया’ का रूपमा चिनिन्छन्।
नाममा देखिएको यो भिन्नता नियतवश थियो वा प्राविधिक त्रुटि, त्यो अनुसन्धानको विषय होला, तर स्रोतका अनुसार यी दुवै नाम गरेका व्यक्ति एकै हुन्। मियाँले आफूलाई ‘जेनजी आन्दोलन’ को अगुवा दाबी गर्दै जिल्लामा विभिन्न गतिविधि गर्ने गरेको पनि बताइन्छ ।
प्रतिक्रिया