×

केन्द्रीय सदस्यहरू मनोनयनले पार्टी एकतामा ठेस पुग्यो : शेखर कोइराला

images

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति विस्तार प्रक्रियाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै यसले पार्टीको बृहत्तर एकतामा गम्भीर असर पुर्‍याएको दाबी गरेका छन्।

मंगलबार विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा आफू निकटका नेता तथा कार्यकर्ताहरूसँगको छलफलपछि उनले बिना परामर्श गरिएको मनोनयनले पार्टीभित्र भावनात्मक विभाजन ल्याएको निष्कर्ष निकालेका हुन्। सभापति गगन थापाले वैशाख २८ गते १९ जना केन्द्रीय सदस्यहरू मनोनयन गरेपछि डा. कोइरालाले पार्टीको समग्र एकताविना राष्ट्रिय राजनीतिमा कांग्रेसले कुनै पनि सार्थक भूमिका खेल्न नसक्ने चेतावनी दिएका छन्।

डा. कोइरालाले पार्टीको इतिहास र परम्परालाई भुलेर गरिने यस्ता निर्णयले कार्यकर्तामा निराशा पैदा गर्ने उल्लेख गर्दै विगतका निर्वाचनबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार विभाजित कांग्रेसले आम नागरिकको भरोसा गुमाउने मात्र नभई राष्ट्रिय राजनीतिमा पार्टीको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने खतरा छ।

विशेष गरी आगामी स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै उनले जुझारु र त्यागी युवाहरूको भविष्य सुनिश्चित गर्न पार्टीलाई नागरिकमैत्री र एकतावद्ध बनाउनुको विकल्प नरहेको बताए। अहिलेको समयमा लोकतन्त्र र संविधानवादमाथि चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्रै गुट–उपगुटमा रमाउनु उदेकलाग्दो भएको भन्दै उनले साझा विचार र सामूहिक भावनाबाट अगाडि बढ्न नेतृत्वलाई आग्रह गरेका छन्।

डा. कोइरालाले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणदेखि नै पारदर्शिता र सहमतिको बाटो रोज्नुपर्ने जनाए। नेतृत्वले समयमै यस्ता कमजोरी सच्याएर अघि नबढे नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य गुमाउन सक्ने उनको चिन्ता छ।

मङ्गलबार २९ बैशाख २०८३ ०३:०५ PM मा प्रकाशित

प्रतिक्रिया