×

वीरगञ्जमा कर्फ्यु जारी, दुई पक्षबीचको झडपले वीरगञ्जको अवस्था तनावग्रस्त

images

जनकपुरधाम। वीरगञ्जमा प्रशासनले कर्फ्यु लगाएको छ। हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यु आदेश जारी भएको हो।

आज साँझ ६ः३० बजेदेखि आइतबार दिउसो १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो। दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चारकिल्ला मानेर सोभित्र कर्फ्यु लगाएको हो।

तोकिएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी भएको छ।

हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको थियो। वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडपले उग्ररुप लिएकोे छ ।

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो । 

झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शनिबार २९ चैत २०८१ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया