काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी लगातारको अविरल वर्षाका कारण बागमती नदीमा आएको भीषण बाढी कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टरभित्र पसेको छ । बाढीले सेन्टरलाई पूर्ण रूपमा जलमग्न बनाएपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासी परिवारहरू पुनः विस्थापित हुन बाध्य भएका छन् ।
शनिबार मध्यरातमा अचानक नदीको बहाव खतराको सतहभन्दा माथि पुगेर कोठाहरूमा पानी भरिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ५४ जनालाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
मध्यरातको उद्धार कार्य: ५४ जनालाई त्रिविको स्मृति भवन सारियो
गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार राति १:३८ बजे सुन्दरीघाट क्षेत्र डुबानमा परेको आकस्मिक सूचना प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ दङ्गा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा विपद् व्यवस्थापन (DM) टोलीसहित ३० जना र नेपाल प्रहरीका थप ३० जना गरी कुल ६० जनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो । होल्डिङ सेन्टरभित्र घुँडाभन्दा माथिसम्म पानी जमेकाले सुरक्षाकर्मीहरूले डुङ्गा (रबर बोट) को प्रयोग गरेर नागरिकहरूलाई बाहिर निकालेका थिए । सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई तत्कालै त्रिभुवन विश्वविद्यालय (TU) परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरिएको छ । अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा गएका छन् भने ९४ जनाले आफ्नो बाँकी सरसामान सुरक्षित राख्ने भन्दै सेन्टरकै पानी नपसेको केही उचाइको भागमा बसिरहेका छन् ।
थापाथलि र अन्य नदी किनारका बस्तीहरू भत्काएपछि सरकारले ती विस्थापित परिवारहरूलाई यो अस्थायी क्याम्पमा राखेको थियो । बाढीले शरण लिएकै ठाउँ डुबाएपछि पीडितहरूले सरकार र स्थानीय प्रशासन विरुद्ध तीव्र आक्रोश पोखेका छन् ।
पीडितहरूले राति १२ बजेदेखि नै कोठामा पानी पस्न थालेको तर सुरक्षाकर्मी र उद्धार टोली राति २ बजेपछि मात्रै आइपुगेको भन्दै आक्रोश व्यक्त गरेका छन् । राति अचानक बाढी पसेकाले कसैले पनि खाद्यान्न, लत्ताकपडा र ओछ्यान सुरक्षित स्थानमा सार्ने मौका पाएनन् । सुरक्षाकर्मीले केही सामान निकाले पनि अधिकांश घरायसी सामग्री पानीले भिजेर नष्ट भएका छन् । विस्थापित सुकुमवासीहरूले रोक्रोश पोख्दै भनेका छन्— "हामीलाई खोला किनारको बस्तीबाट जोखिम भन्दै उठाएर फेरि खोलाकै किनारको होल्डिङ सेन्टरमा ल्याएर राखियो, सरकारको यो कस्तो बुद्धि हो?"
गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्र र त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारिएका नागरिकहरूका लागि आवश्यक पर्ने तयारी खाना, पिउने पानी, स्वास्थ्य सामग्री र खाद्यान्न व्यवस्थापन गर्न आपत्कालीन टोलीहरू (Response Clusters) सक्रिय भइसकेका छन् । बागमती नदीको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी किनारका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा निगरानी बढाउन प्रशासनले निर्देशन दिएको छ ।
प्रतिक्रिया