×

क्यानडाको विद्यालयमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार : नौ जनाको मृत्यु

images

एजेन्सी। क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ। दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त मानिने टम्बलर रिज सहरलाई स्तब्ध बनाएको छ। मंगलबार दिउँसो टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।

अस्पताल लैजाँदै गर्दा थप एक जनाको मृत्यु भएको र संदिग्ध आक्रमणकारी पनि मृत फेला परेको प्रहरीले जनाएको छ। आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

विद्यालयमा भएको नरसंहारको केही समयपछि प्रहरीले सोही घटनासँग सम्बन्धित मानिएको एक घरमा थप दुई जनालाई मृत फेला पारेको थियो। यससँगै मृतकको संख्या नौ पुगेको छ। गम्भीर अवस्थामा रहेका दुई जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ भने अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ।

करिब दुई हजार चार सय जनसंख्या रहेको यो पहाडी सहरमा भएको घटनापछि प्रहरीले थप घरहरूको खानतलासी गरिरहेको छ। प्रहरीले हाललाई सर्वसाधारणका लागि कुनै खतरा नरहेको स्पष्ट पारेको छ। यसअघि जारी गरिएको घरभित्रै सुरक्षित बस्न दिइएको आदेश पनि साँझतिर हटाइएको थियो। घटनाको गाम्भीर्यलाई हेर्दै उक्त क्षेत्रका विद्यालयहरू साताभरका लागि बन्द गरिएको छ।


क्यानडामा अमेरिकाको तुलनामा कडा बन्दुक नियन्त्रण कानुन भएका कारण यस्ता सामूहिक गोलीकाण्डका घटना निकै दुर्लभ मानिन्छन्। तथ्याङ्क अनुसार अमेरिकामा प्रति सय बासिन्दा १२१ वटा हतियार रहेका छन् भने क्यानडामा यो दर ३५ मात्र छ। यस्तो सुरक्षित वातावरणका बिच भएको यो क्रूर घटनाले क्यानडाली समाज र सुरक्षा संयन्त्रलाई गम्भीर प्रश्नको घेरामा उभ्याएको छ। प्रहरीले अहिले आक्रमणको उद्देश्य र कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।

बुधबार २९ माघ २०८२ १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया